प्रबल जनसेवाश्री पदवीबाट गायिका विष्णु माझीलाई सम्मान गरिने



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई मानपदवी, अलङ्कार र पदक प्रदान गर्दै छिन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्न लागेकी हुन् ।

जस मध्ये प्रबल जनसेवाश्री पदवीबाट लोक गायिका विष्णु माझीलाई सम्मान गरिने भएको छ । गीत चर्चामा आए पनि लामो समयदेखि सार्वजनिक नभएकी गायिका माझीलाई पनि पदकबाट सम्मान गर्न लागिएको हो । गायिका माझीले अहिलेसम्म गुमनाम जीवन बाँचिरहेकी छन् ।

पछिल्लो समय ‘चरी जेलैमा’ भन्ने गीत हिट भएपछि उनको खोजी भएको थियो । मानवअधिकार आयोगले विष्णु माझीको अवस्थाबारे जानकारी गराउन जिल्ला प्रशासन कार्यालयलाई पत्र पनि लेखेको थियो । गीतले उनको निजी जीवन सार्वजनिक हुनुपर्छ भन्दै बहस चल्यो । चरी जेलैमा गीतलाई उनको जीवनसँग जोडेर पनि चर्चा गरिएको छ।

संविधान दिवसको अवसर पारेर प्रदान गरिने विभिन्न मानपदवी र विभूषण यस पटक ९ सय ३ जनाले पाउने भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्