मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दैछन् मन्त्री ?



सैघाली खबर
काठमाडौं ८ फागुन । एमाले र माओवादी एकताको सात बुँदे सहमति भएसँगै सरकार विस्तार हुने भएको छ । सोमबार मध्यराति दुई पार्टीबीच सहमतिमा हस्ताक्षर भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

सोमबार पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी एक भइसकेकोले सरकारमा छिट्टै सहभागी हुने बताएका थिए । त्यस्तै, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बुधबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने विश्वास व्यक्त गरिन् । पार्टी अध्यक्ष प्रचण्ड मंगलबार चितवन गएको र बुधबार त्यहाँबाट फर्कने कार्यक्रम रहेकाले उनी फर्किएलगत्तै छलफल गरेर सरकारमा सहभागी हुने नेतृ भुसालको दाबी थियो ।

यता, एमाले सचिव प्रदीप ज्ञवालीले पनि बुधबारसम्म सरकार विस्तार हुने विश्वास व्यक्त गरे । दुई पार्टीबीच पार्टी एकताको आधारपत्रमा हस्ताक्षर भइसकेकाले सरकार विस्तारमा विलम्ब नहुने उनको भनाइ थियो । एमालेसँग पार्टी एकताबारे ठोस सहमति नगरी सरकारमा सहभागी नहुने माओवादी अडानका कारण एमाले अध्यक्ष ओलीको क्याविनेट माओवादीविहीन बनेको थियो ।

को–को बन्दैछन् मन्त्री ?
संविधानतः राज्यमन्त्रीसमेत गरी २५ जनाभन्दा बढी सदस्यीय मन्त्रिपरिषद बनाउन पाइँदैन । तथापि एमाले र माओवादी दुवै पार्टीमा मन्त्रीका आकांक्षी थुप्रै देखिएका छन् ।

एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सोम पाण्डेको नाम चर्चामा छ । त्यस्तै तीन पटक सांसद बनिसकेका तर मन्त्री बन्ने मौका नजुरेका कास्कीका रवीन्द्र अधिकारी, मोरङबाट निर्वाचित भानुभक्त ढकाल पनि मन्त्री बन्ने इच्छा पाल्नेमध्ये हुन् ।

यता, माओवादी केन्द्रबाट रामबहादुर थापाको नेतृत्व नेताहरू कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणी पोखरेल सरकारमा सहभागी हुन इच्छुक देखिएको स्रोत बताउँछ ।

एमाले सविच ज्ञवालीले आजभोलि नै पार्टीको बैठक बसेर सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंग्याउने जानकारी दिए । त्यस्तै पम्फा भुसालले पनि पार्टी अध्यक्ष चितवनबाट फर्किएपछि सरकारमा सहभागी हुनेहरूको नाम निरूपण हुने बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्