प्रचण्डले भने – ओली मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिँड्छन्



काठमाडौँ । नेकपा ( माओवादी  केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिँड्ने भएको टिप्पणी गरेका छन्  । उनले बालुवाटारबाट निकालिँदा पनि ओली बाजा बजाएर बालकोट गएको भन्दै प्रचण्डले टिप्पणी गरेका हुन् । 

सोमबार पार्टी कार्यालय पेरिस डाँडामा सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले भने  । ‘हुन त केपी त्यस्ता मान्छे हुन् जो मलामी जाँदा नि बाजा बजाउँदै नाच्दै हिँडिदिन्छन्। मान्छे दङ्गै पर्छन्, किनभने बालुवाटारबाट बालकोट जाने भनेको त हारेको, सन्नाटा भएर बडो निराश भएर अब के गर्ने? फेरि कसरी आउने होला? भनेर सोच्दै जानु पर्नेमा पञ्चेबाजा बजाएर, धिमे बाजा बजाएर मानौँ ठुलो जित हासिल गरेको जस्तो।’

अध्यक्ष प्रचण्डले ओलीको निरङ्कुशता थाहा पाए पनि केही साथीहरूले आफूलाई आत्मसमर्पण गरेको बताए । उनले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको बताए ।

ओलीले आफूले मनपरी गरेर आरुलाई दोष दिने गरेको पनि उनले बताए । उनले भने , ‘पार्टीभित्रको झगडाले जनताको प्रतिनिधि सभा विघटन गर्न पाइन्छ ?’ मनपरी आफू गर्ने ? पार्टीभित्र बहुमत अर्कोतिर भएपछि उनले छोड्न पर्दैनथ्यो ?’

उनले आफ्नो पार्टी बिस्तारै एमाले करण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताए । उनले माओवादीमा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै व्यवहार देखिन थालेकाको भन्दै चिन्ता व्यक्त गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्