एमाले अध्यक्ष ओलीको मुद्धा हेर्दाहेर्दैमा



काठमाडौँ  ।   सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट ‘हेर्दा हेर्दै’ को सूचीमा राखिएको छ ।  

सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको थियो ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ताविरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसनामार्फत गत भदौ १७ गते तीन वटा रिट दर्ता गरेका थिए । 

रिटमा सभामुख सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ ।

गत भदौ १ गते एमालेले पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ जना प्रतिनिधि सभा सदस्यलाई पदमुक्तको निर्णय गरेको थियो । तर, आयोगले यही भदौ ९ गते माधव नेपाललाई नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्