अफगानिस्तानका छात्रालाई “चाडै” विद्यालय फर्काउने तालिबानको दाबी



एजेन्सी । अफगानिस्तानका छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ । तालिबानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरूले गुनासो गरेपछि तालिबानले उनीहरूलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको हो ।

शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरूलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि शिक्षिका र छात्राहरूले चिन्ता व्यक्त गरेका थिए । मन्त्रालयले आइतबारदेखि लागू हुने गरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरूलाई मात्रै विद्यालय जान सूचना जारी गरेको थियो ।

सूचनामा हजारौँ छात्राको पढाई तथा भविष्यका बारेमा केही उल्लेख नगरिएको भन्दै शिक्षिका तथा छात्राले आफूहरूलाई पनि विद्यालय जान पाउने व्यवस्था गर्न माग गरेका थिए । विद्यालय जान नपाउँदा आफूहरूको आम्दानी गुमेकाले आफूहरू परिवारमा निर्भर हुनु पर्दा पीडा महसुस भइरहेको समेत शिक्षिकाहरूले बताएका छन् ।

उनीहरूले विद्यालयमा गएर अध्यापन गराउन नपाउँदा आर्थिक सङ्कटसँगै मनोवैज्ञानिक समस्या उत्पन्न भएको गुनासो गरेका छन् । शिक्षिका तथा छात्रालाई विद्यालय नबोलाइएको बारेमा विश्व समुदायले समेत चासो राखेपछि तालिबानले उनीहरूले चाडै बोलाउने प्रतिबद्धता जनाउन बाध्य भएको हो ।

संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षा क्षेत्रमा धेरै उपलब्धि भएको जनाएका छन् । सन् २००१ देखि यता महिला साक्षरता दरमा पनि ठुलो वृद्धि भएको युनेस्कोको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुरुमा महिला साक्षरता दर १७ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशत पुगेको युनेस्कोले जनाएको छ ।

त्यसै गरी विद्यालय जाने छात्राहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको युनेस्कोका अधिकारीहरूले बताएका छन् । सन् २००१ मा उच्च शिक्षामा सहभागी छात्राहरूको सङ्ख्या पाँच हजार रहेकोमा सन् २०१८ मा ९० हजार पुगेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्