अन्तर्राष्ट्रिय

अफगानिस्तानमा महँगीसँगै बेरोजगारी वृद्धि

By Thah Online

September 21, 2021

एजेन्सी । अफगानिस्तानमा बेरोजगारहरूको सङ्ख्यामा अत्यधिक वृद्धि भएको पाइएको छ । तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेर शासन सञ्चालन गर्न थालेपछि बेरोजगारहरूको सङ्ख्यामा वृद्धि भएको हो ।

त्यसै गरी रोजगारी भएकाहरूले पनि लामो समयदेखि मासिक तलब तथा अन्य सेवा सुविधाहरू नपाएको गुनासो गरेका छन् । अफ्गान सेनामा कार्यरत अक्रामुद्धीनले पछिल्लो सात महिनादेखि आफूले नियमित तलब नपाएको बताउनुभयो ।

तालिवान विद्रोहीहरूले सत्ता कब्जा गर्नु अगाडीदेखि नै देशको ढुकुटीमा आर्थिक सङ्कट परेकाले सेनाका कर्मचारीलाई समेत तलब पनि खुवाउन नसक्ने अवस्था आएको जनाइएको छ ।

तलब नपाउँदा दैनिकी चलाउन नै समस्या पर्न थालेको अक्रामुद्धिनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तलब पाइएको छैन, म भाडाको घरमा बस्छु, पाँच हजार भाडा तिर्नुपर्छ, दुई हजार बिजुलीको तिर्नुपर्छ, तर आम्दानी १० रुपैयाँ पनि छैन ।”

शिक्षण पेसामा आबद्ध मोहम्मद नासिरले नौ जना सदस्य रहेको आफ्नो परिवार चलाउन धेरै गाह्रो भइसकेको गुनासो गर्नुभयो । आम्दानी नभएकाले उपभोग्य सामग्रीहरू किन्न नसकिरहेका बेला सामानको मुख्य पनि वृद्धि भएको उपभोक्ताहरूले बताएका छन् । उनीहरूले महँगी, बेरोजगारी, आर्थिक सङ्कट तथा अभावका बारेमा चासो राख्दै आएका छन् ।

“मानिसहरूलाई अनेक प्रकारका समस्या आइपरेका छन्, समस्या न्यूनीकरणका लागि हामीले सरकारलाई आग्रह गर्न चाहन्छौँ,” एक अफगान नागरिकले भन्नुभयो । अफगानिस्तानमा सरकार मातहतको निजामती सेवामा झन्डै ४३ हजार कर्मचारी कार्यरत रहेको तथ्याङ्क रहेको छ ।