पेट्रोल छर्केर वडाध्यक्षको कार्यकक्षमा आगजनी



सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१ वडा कार्यालयस्थित वडाध्यक्षको कार्यकक्षमा आगजनी गरिएको छ । आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ ।

‘वीरेन्द्रनगर वडा नं. १ वांगेशिमल बस्ने २५ वर्षको वास्तान लामिछानेले मलाई कार्यालयको फोन नम्बरबाट आज बिहान १० बजेर ४ मिनेटमा फोन गरेर २ मिनेटमा कार्यालय आइपुग्न धम्की दिएका थिए ‘, वडाध्यक्ष सुनारले भने, ‘आफू शुभ होटलमा एक कार्यक्रममा रहेको र केही समय लाग्ने हतार भए कागज लिएर आउन भन्दा घाँटी चिलाएको छ कि भनेर धम्क्याए ।’

त्यसपछि कार्यालय सहयोगीसँग उनले पानी खाने भन्दै बोतल मागेर पेट्रोल ल्याई कार्यकक्षमा आगजनी गरेका हुन् । कर्मचारीहरूले रोक्न खोज्दा हातमा खुँडा देखार तर्साएको बताइएको छ ।

आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्त्वपूर्ण सामग्री जलेर नष्ट भएको छ।कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष गङ्गाराम सुनारले जानकारी दिए । प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्