दशैंको अग्रिम टिकट खुलाउने तयारी



काठमाडौँ । यातायात व्यवस्था विभागले दसैँको अग्रिम टिकट खुलाउने तयारी गरेको छ । विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका लागि यातायात व्यवसायीहरूको प्रतिनिधि सङ्गठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका सदस्यहरूलाई बिहीबार विभागमा डोकेको छ ।

दसैँको समयमा काठमाडौँ उपत्यका छाडेर गाउँ फर्किनेको सङ्ख्या ह्वात्तै बढ्ने भएकाले विभागले हरेक वर्ष अग्रिम टिकट खुलाउने गरेको छ । प्रत्येक वर्ष करिब २० लाखले काठमाडौँ छाड्ने गरेकोमा अघिल्लो वर्ष कोभिड सङ्क्रमणको त्रासका कारण टिकट काटेर ५ लाख मात्रै बाहिरिएका थिए । यातायात व्यवसायीले सिट सङ्ख्याभन्दा बढी यात्रु लगेकाले उक्त सङ्ख्या करिब ८ लाख भएको अनुमान गरिएको थियो ।

कोभिड सङ्क्रमणको त्रास कायमै रहेको भए पनि यस वर्ष दसैँका लागि काठमाडौँ छाड्नेहरू गत वर्षको भन्दा दोब्बर हुने अनुमान गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।

‘अग्रिम टिकट खुलाउनेबारे छलफलका लागि व्यवसायी र ट्राफिक प्रहरी महाशाखालाई बिहीबार विभागमा डाकेका छौँ,’ उनले भने, ‘यात्रुको चाप बढ्ने निश्चित देखिएकाले असोज दोस्रो साताभित्र अग्रिम टिकट खुलाउने तयारी छ ।’ विभागले यसअघि सोमवार महासङ्घका प्रतिनिधि र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईलाई डाकेर भदौ १० गतेदेखि अग्रिम टिकट खुलाउन अनुरोध गरेको थियो । तर महासङ्घले व्यवसायीसँग छलफल गर्नुपर्ने भन्दै तत्काल अग्रिम टिकट खुलाउन आनाकानी गरेको थियो । आजको आर्थिक अभियान दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्