काठमाडौंका विद्यालय असोज १० देखि खोल्दा पाइने



काठमाडौँ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय यही असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ ।

महानगरपालिकाका शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिक रूपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिनुपर्ने र सोही अनुसार कार्य योजना बनाई महानगरमा पेस गर्नुपर्नेछ । विद्यालयले बुझाएको कार्य योजना अनुसार महानगरले भौतिक रूपमा विद्यालय खोल्न अनुमति दिनेछ ।

यदि विद्यालयमा विद्यार्थी सङ्ख्या ठुलो भएको वा अभिभावक डराएको अवस्थामा विद्यालय खोल्न अनिवार्य नगरिएको जनाइएको छ ।
विद्यालय सञ्चालनका लागि महानगरपालिकाले महानगरभित्रको परिस्थिति अनुसार ‘कस्टुमाइज्ड मापदण्ड’ बनाएको र विद्यालयले ती २७ मापदण्ड अनिवार्य लागू गर्नुपर्ने शाखा प्रमुख सुवेदीले बताउनु भयो । 

शिक्षा मन्त्रालयले बनाएको मापदण्डलाई समेटेर महानगरले मापदण्ड बनाएको जनाएको छ । विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक, संघसंस्थालगायत सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालयले विद्यालय सञ्चालनको विस्तृत कार्य योजना बनाई महानगरको शिक्षा शाखामा पेस गर्नुपर्ने, शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले अनिवार्य खोप लगाएको हुनुपर्नेछ । विद्यालयको गेटमा र कक्षाकोठाबाहिर स्यानिटाइजर वा साबुनपानीको प्रबन्ध गरी बेलाबेलामा हात स्यानिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने हुनुपर्नेछ

यदि शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था समेत गर्ने शाखा प्रमुख सुवेदीले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्