थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै



नेपाल विद्युत् प्राधिकरणले थप पाँच सय वटा चार्जिङ स्टेसन निर्माण गर्नुभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रवार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न चाहनेलाई सम्पर्क गर्न आह्वान गरेको हो ।

स्टेसन निर्माण निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा निर्माण गरिने प्राधिकरणले जनाएको छ । पाँच सय वटा चार्जर जडान गर्ने योजनासहित जग्गा प्राप्तिको सूचना सार्वजनिक गरिएको प्राधिकरणका चार्जिङ स्टेसन परियोजना प्रमुख सागर ज्ञवालीले जानकारी दिए । प्राधिकरणले देशका प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण कार्य सुरु गरेको छ । प्राधिकरणले विद्युतीय सवारी साधनलाई लक्षित गरी चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो ।

चार्जिङ स्टेसन पूर्वपश्चिम राजमार्ग, पृथ्वी, सिद्धार्थ, बिपी र मदनभण्डारीलगायतका राजमार्गमा स्थापना गर्न लागिएको हो । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा निर्माण गरिने छ । नौ महिनाभित्र कार्य सम्पन्न भइसक्ने प्राधिकरणले जनाएको छ । प्रमुख ज्ञवालीले भने, “अबको नौ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता हो तर छरसात महिनामै सक्ने योजनामा छौँ ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्