सैघाली खबर,
फागुन । – बलिउड अभिनेता ऋतिक रोशन सडकमा पापड बेच्दै गरेको देखिएका छन् । तर उनले रियल लाइफमा नभई रिल लाइफमा पापड बेचेका हुन् । उनी आफ्नो हरेक चलचित्रमा कुनै न कुनै नयाँपन ल्याउन खोजिरहन्छन् । चलचित्र ‘सुपर ३०’ मा ऋतिक नयाँ अवतारमा देखिँदैछन् ।अहिले चलचित्रको छायांकन भइरहेको छ । उनका केही तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । जसमा ऋतिक साइकलमा पापड राखेर बेचिरहेका देखिन्छन् ।
चलचित्र ‘सुपर ३०’ मा ऋतिक भारतका नाम चलेका गणितज्ञ आनन्द कुमारको भूमिका निर्वाह गरिरहेका छन् । उनले आफूलाई त्यो पात्र जस्तो देखिनको लागि धेरै मेहनत गरेका छन् । चलचित्रमा उनलाई चिन्नसमेत गाह्रो पर्छ ।चलचित्रको छायांकन हुनु पूर्व आनन्दले ऋतिकलाई यस्तो रुपमा देखेपछि दंग भएका थिए । आनन्द स्वयमले आफू ऋतिकको लुकलाई देखेर दंग भएको कुरा सामाजिक संजालमासमेत सेयर गरेका छन् । यसबाटै अनुमान लगाउन सकिन्छ, ऋतिक यस चरित्रमा कतिसम्म डुबिसकेका छन् ।
विकाश बहलद्वारा निर्देशित चलचित्र ‘सुपर ३०’ मा ऋतिकसँगै टेलिभिजनकी अभिनेत्री मृणाल ठाकुरलाई पनि देख्न सकिनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।