सैघाली खबर,
काठमाडौं, १० फागुन –। नेपाल विश्वमै धेरै भ्रष्टाचार हुने देशहरुकै सूचीमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ८० वटा देशमा अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदन भ्रष्टाचार अवधारणा सूचकांक सीपीआई मा नेपाल यसपटक १ सय २२ औं स्थानमा रहेको जनाएको हो । सन् २०१६ को प्रतिवेदनमा नेपाल २९ अंकसहित १ सय ३१ औं स्थानमा थियो । यसपटक नेपालले ३१ अंंक प्राप्त गरेपनि ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरी अर्यालले जानकारी दिनुभयो ।
नेपालले अहिलेसम्म यो सूचकांकमा ३१ भन्दा धेरै अंक पाउन सकेको छैन । राजनीति, न्यायमा पहुँच, वित्तिय अनुशासनलगायत मापदण्डका आधारमा प्राप्त अंकको औसत निकालेर यो सुचकांक तयार पारिएको संस्थाले जनाएको छ । यसपटकको सूचीमा दक्षिण एसियामा भुटान सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेको छ भने अफगानस्तान सबैभन्दा धेरै भ्रष्टाचार हुने देश बनेको छ ।
भूटान ६७ अंक सहित २९ औ स्थानमा छ । यस्तै, भारत ८५ औं, श्रीलंका ९७ औं र माल्दिभ्स १ सय १८ औं, पाकिस्तान १ सय २३ औं स्थानमा छ । बंगलादेश भने १ सय ४६ औं स्थानमा छ भने अफगानिस्तान १८० औं स्थानमा छ ।
१ सय ८० देशमध्ये न्युजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा परेको छ । त्यस्तै, डेनमार्क दोश्रो स्थानमा छ भने फिनल्याण्ड, स्वीजरल्याण्ड र नर्वे तेश्रो स्थानमा छन् । न्युजिल्याण्डले ८९ र डेनमार्कले ८८ अंक पाउँदा फिनल्याण्ड, स्वीजरल्याण्ड र नर्वेले ८५ अंक पाएका छन् । प्रतिवेदनमा विश्वभर भ्रष्ट्राचार नियन्त्रण गर्न एकदमै कम मात्र प्रयास भएको भन्दै चिन्ता ब्यक्त गरिएको छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।