सैघाली खबर,
तुलसीपुर ११ फागुन ।
दाङमा एकजना महिलाको झारफुकको क्रममा मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर ५ खल्लाचिस निवासी २५ वर्षीया डसनी चौधरीको झारफुकका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झारफुकका क्रममा बिरामीको मृत्यु भएपछि प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्ररीगाउँ निवासी ४५ वर्षीय करण चौधरीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले बुधबार बिहान नौ बजेतिर झारफुकका क्रममा डसनी बेहोस भएपनि करणले मन्त्र उल्टो परेको भन्दै दिउँसो ३ बजे बिरामीको मृत्यु भइसक्दासम्म झारफुक गरेको खुल्न आएको बताए ।
दिउँसो ३ बजेपछि तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल पुर्याएलगत्तै चिकित्सकले डसनीलाई मृत घोषणा गरेका थिए। तर, परिवारजनले मृतको शव खल्लाचिसस्थित घरमै पुर्याएका थिए । पछि गाउँले र घर परिवारले खबर गरेपछि प्रहरी गएर झारफुक गर्ने करण चौधरीलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार सामान्य बिरामी २५ वर्षीया डसनी चौधरीको झारफुक उनकै गाउँ दंगिशरण गाउँपालिका वडा नम्बर ५ खल्लाचिसस्थित सान्तुराम चौधरीको घरमा गरिएको थियो । करण चौधरीले आफूलाई झारफुक गरि रोग निको पार्ने ‘अर्चना बाबा’को सबैभन्दा राम्रो चेला भएको दाबीसहित बिरामीलाई अस्पताल लैजान नदिएर गाउँमै झारफुक गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।