भाषा परीक्षामा उत्तीर्णहरूको नाम नेपालस्थित इजरायली दूतावासमा



काठमाडौँ  । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरको रोजगारीमा जान लिएको भाषा परीक्षा उत्तीर्ण १ हजार ६ सय परीक्षार्थीको नामावली नेपालस्थित इजरायली दूतावासलाई बुझाएको छ । भाषा परीक्षामा उत्तीर्ण २ हजार ३९ जनामध्ये अङ्ग्रेजी भाषा परीक्षा उत्तीर्ण गरी तौल तथा तोकिएको उचाइ पुगेका १ हजार ६ सय जना सिफारिस भएका हुन् ।

त्यसमध्ये कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार जना छनोट गरिने छ । सुरुमा एक वर्षको करार अवधिका लागि जाने नेपाली कामदार ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्ने व्यवस्था छ । इजरायल जानका लागि १ लाख ६५ हजार ७०० लाग्ने प्रारम्भिक अनुमान छ । जहाज भाडा बढेमा लागत बढ्न सक्ने छ । नेपाली कामदारको मासिक करिब १ लाख ९० हजार रुपैयाँ पारिश्रमिक हुने छ ।

नेपाल सरकार र इजरायल सरकारबिच २०७६ असोज १४ गते भएको सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि जिटुजी मोडलबाट नेपाली कामदार पठाउन लागिएको हो । सरकारले एजेन्ट सरहको हैसियतमा कामदार पठाउने कार्य राष्ट्रको स्वाभिमान विपरीत भएकाले खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको एउटा रिट भने सुनुवाइको प्रक्रियामा रहेको छ ।

उता साउदी अरबले अदक्ष विदेशी कामदारका लागि तोकेको न्यूनतम तलबलाई पुनः हेरफेर गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्ष, अर्ध दक्ष र अदक्ष कामदारसँगै घरेलु कामदारको समेत तलब वृद्धि गर्ने गृहकार्य भइरहेको छ । साउदी अरबले  हालको तलबमा कम्तीमा १० प्रतिशतसम्म तलब वृद्धि गर्ने तयारी रहेको बताइएको छ ।

साउदी अरबको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम तलबमा हेरफेर गर्ने गरेको छ । पश्चिमी मुलुकहरूले साउदीमा कार्यरत विदेशी कामदारको तलब न्यून रहेको र उनीहरूको मानवअधिकार समेतको संरक्षण हुन नसकेको टिप्पणी गर्दै आएका छन् । मध्यान्ह दैनिकबाट 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्