सुशासन र शान्ति सुरक्षा पहिलो प्राथमिकता – मन्त्री केसी



, सैघाली खबर,
रोल्पा,११ फागुन । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सुशासन र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको भवन निर्माण र पत्रकारिता कल्याण कोष स्थापनाका लागि सहयोग संकलन कार्यक्रममा रोल्पा आइपुग्नुभएका मन्त्री केसीले विहिबार प्रमुख अतिथिको आशनबाट बोल्दै यस्तो बताउनुभएको हो ।

यसैबीच, उहाँले प्रदेशसभाका सदस्यबाट सहमति गरी सबैलाई पायक पर्ने ठाउँमा प्रदेश नं ५ को राजधानी राखिनेसमेत जानकारी दिनुभयो ।

मन्त्री केसीले चुनाव लड्दा जुन पार्टीबाट लडेर आफू विजयी भएको भएपनि यो सम्पूर्ण रोल्पालीको विजय भएको हुँदा आफूले सबैको साझा बनेर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

यसरी सहयोग भएको रकममध्ये ७५ प्रतिशत भवन निर्माणमा खर्च गरिनेछ भने २५ प्रतिशत पत्रकारिता कल्याण कोष स्थापनाका लागि जम्मा गरिने महासंघका अध्यक्ष मानसिंह विकले जानकारी दिनुभयो । उहाँका अनुसार सहयोग गर्न चाहने जोसुकैले महासंघलाई नगद तथा जिन्सी वा जुनसकै माध्यमबाट पनि सहयोग गर्न सकिने छ ।

शाखा अध्यक्ष विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभाका सदस्य दीपेन्द्रकुमार पुन, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, प्रजिअ डा डिजन भट्टराई, समन्वय अधिकारी सुशील वैद्य, प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँल, प्रमुख अनुसन्धान अधिकृत मनोज ढकाललगायत जिल्लामा क्रियाशील पत्रकार, व्यापारी, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्