साफ च्याम्पियनसिप आजदेखि, नेपाल र माल्दिभ्स भिड्दै



काठमाडौँ  । दक्षिण एसियाली राष्ट्रहरूको फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदै छ । राजधानी मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने उद्घाटन खेलमा श्रीलङ्का र बङ्गलादेश भिड्ने छन् ।

त्यसै गरी आजै हुने दोस्रो खेलमा नेपालले घरेलु टोली माल्दिभ्सको सामना गर्दै छ । खेल बेलुका नेपाली समयअनुसार पौने १० बजेदेखि सुरु हुने छ ।

नेपाल र माल्दिभ्सबीद्बको खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । यसअघि नेपाल र माल्दिभ्सबीच उद्घाटन खेल हुने भनिएपनि तालिका थोरै परिवर्तन भएकोले अब बंगलादेश र श्रीलंकाबीच पहिलो खेल हुनेछ ।

फिफा वरियतामा माल्दिभ्स १५८औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ । वरियतामा खासै माथि नभएपनि माल्दिभ्स बलियो टोली हो । साथै प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।

माल्दिभ्सका कप्तान अली असफाक अनुभवी एवम् उत्कृष्ट खेलाडी हुन् । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीले पनि पछिल्लो समयमा निकै सुधारिएको प्रदर्शन गर्दै आइरहेको छ ।

साफको तयारीका क्रममा नेपालले मालदिभ्स जानु अघि कतारमा विशेष तयारी गरेको थियो । नेपालले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले भारतसँग १-१ को बराबरी गरेको थियो। दोस्रो खेलमा २-१ ले पराजित भएको थियो । 

त्यसै गरी त्यसपछि तयारीका लागि कतार पुगेको टोलीले त्यहाँको बी डिभिजन क्लबलाई २-० ले हराउँदा ओमान राष्ट्रिय फुटबल टोलीसँग ७-२ को हार व्यहोरेको थियो । साफ च्याम्पियनसिपमा आयोजक मालदिभ्स, नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहेको छ। पाकिस्तान र भुटान भने सहभागी नहुने भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्