वैदेशिक रोजगारमा गएका कामदारले पनि शेयर बजारमा करोडौँ गुमाए



काठमाडौँ । नेपाली शेयर बजार अहिले घट्दो क्रममा रहेको छ । शेयर बजार घट्ने क्रम जारी रहँदा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले पनि ठुलो परिमाणमा लगानी गुमाएको देखिएको छ । कोरोना सङ्क्रमणपछि बढेको नेपाली शेयर बजारमा लगानी गरेका कामदारहरू दुई हप्तायता डरलाग्दो गरी शेयर मूल्य घटेपछि चाडवाडको मुखमा पसिनाको कमाइ गुमाउन बाध्य भएका छन् ।

नेपाली शेयर बजार प्रविधिमैत्री भएपछि विश्वभर छरिएका नेपालीले करोडौँ लगानी गरेका छन् । नेपाली शेयर बजारमा वैदेशिक रोजगारीमा जापान र दक्षिण कोरिया गएका कामदारको ठुलो हिस्सा प्रवेश गरेको छ । रोजगारीका लागि खाडी र मलेसिया जाने कामदारको तुलनामा आकर्षक कमाइ गर्ने उल्लेखित दुई मुलुक गएका अधिकांश नेपालीले जलविद्युत, विकास बैङ्क र फाइनान्स कम्पनीका शेयरमा लगानी गरेको र ती क्षेत्रका शेयर मूल्य घट्दा लगानी गुमाउन पुगेको बताइएको छ ।

लगानी गरेका अधिकांशले हालसम्मको बजार घट्ने क्रममा एक वर्षको तलब बराबरको रकमको नोक्सानी व्यहोर्नुपरेको हाल दक्षिण कोरीयामा काम गर्दै आएका बागलुङ बलेवाका एक कामदारले बताए । कतिपयले साथीहरूसँग ऋण सापटी गरेर लगानी गरेका कारण शेयर बजारमा सुधार नआएको अवस्थामा त्यसले नकारात्मक रूप लिन सक्ने पनि उनको भनाइ छ ।

कोरोना सङ्क्रमणपछिको लकडाउनसँगै उकालो लागेको नेपाली शेयर बजारको सूचकाङ्क ३२ सय भन्दा केही माथि पुगेर निरन्तर ओरालो लागिरहेको छ । यस सप्ताहको अन्तिम कारोबार दिन बिहीबार धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्क बढीले घटेको  छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.५१ अङ्कले घटेर दुई हजार ६३३.४२ अङ्कमा झरेको छ । दैनिक २० अर्ब बराबरको कारोबार हुने शेयर बजारमा बिहीबार तीन अर्ब ७० करोड २९ हजार ५ सय ७ रुपैयाँको मात्र कारोबार भयो । यो रकम दुई वर्षयताको सबैभन्दा न्यून भएको बताइएको छ । दसैँ अगाडि बजार नबढ्ने धेरैको एकमत छ । 

तर बजार जति तीव्रताका साथ घट्यो त्यति नै तीव्रताका साथ बढ्ने भन्दै शेयर बजार विज्ञ डा.केशव श्रेष्ठ बजार घटे पनि आफूसँग भएका स्टकहरु सुरक्षित राख्न सके बजारले रिटर्न दिने बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्