मुख्य समाचार

इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै, विद्युत प्राधिकरणलाई कारबाही गर्ने दूरसञ्चारको चेतावनी

By Thah Online

October 03, 2021

नेपाल विद्युत् प्राधिकरणलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै दूरसञ्चारले कारबाहीको चेतावनी दिएको हो ।

विद्युत् प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरूमा इन्टरनेट सेवा अवरुद्ध भएकाले दूरसञ्चारले सूचना जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दूरसञ्चार ऐन २०५३ अनुसार दण्डनीय हुने व्यवस्था छ। 

इन्टरनेट सेवा प्रदायक कम्पनीले विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने पोल तथा फाइबरको बक्यौता रकम भुक्तानी नगरेको भन्दै प्राधिकरणले इन्टरनेटका तारहरू काटेको हो । प्राधिकरणले तीन पटकसम्म सूचना प्रकाशन गर्दै असोज १५ गतेसम्म बक्यौता रकम भुक्तानी नभए तार काट्ने चेतावनी दिएको थियो । प्राधिकरणको चेतावनीपछि पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले बक्यौता रकम भुक्तानी नगर्दा फाइबर र तार काटिएको प्राधिकरणको दाबी छ ।