३० जेठ, काठमाडौं । नेपाली कांग्रेसले बुधबारसम्ममा स्थानीय तह दोस्रो चरणको चुनावका लागि उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ ।
मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बुधबारसम्ममा दोस्रो चरणको स्थानीय चुनावको लागि उम्मेदवारी तय गरिसक्ने निर्णय गरेको हो ।
बैठकमा प्रदेश नम्बर २ का उम्मेदवारको विषयमा विशेष जोड दिएर छलफल गरिएको थियो । प्रदेश नम्बर २ को ८ जिल्लामा पार्टीले दिने उम्मेदवारीको विषयमा विशेष जोड दिएर छलफल भईरहेको नेता महेश आचार्यले जानकारी दिए ।
कांग्रेसले विवादित ठाउँमा भने सम्बन्धित पार्टी समितिकै सहमतिमा उम्मेदवारको टुंगो लगाउने मापदण्ड नै तय गरेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएकोले मंगलबार नै उम्मेदवारको टुंगो लगाउन सक्ने अवस्था नरहेको नेता महेश आचार्यले जानकारी दिए ।
नेपाली कांग्रेसले दोस्रो चरणको चुनावमा तालमेल गरेर जाने अधिकार पनि स्थानीय पार्टी समितिलाई दिएको छ । आगामी असार १४ गते ४ सय ६१ वटा स्थानीय तहमा चुनाव हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।