वैदेशिक रोजगारीका क्रममा लडेर गम्भीर चोट लागेका घर्तीको उपचारमा १२ लाख बढी सहयोग



बाग्लुङ । केही वर्षअघि वैदेशिक रोजगारीमा क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि नियमित उपचारमा रहनुभएका पोषबहादुर घर्तीलाई आर्थिक सहयोग गरिएको छ ।

ताराखोला गाउँपालिका–५ का ४५ वर्षीय घर्तीको उपचारमा स्थानीय नवसिर्जना र असारे युवा क्लब मिलेर रु १२ लाख ४३ हजार ५५५ आर्थिक सहायता जुटाएका हुन् ।

सो रकम वडाध्यक्ष रामबहादुर रोकालगायतको उपस्थितिमा शनिवार घर्तीकी धर्मपत्नी छलमायालाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताउनुभयो ।

घर्तीको टाउकाको नसामा समस्या देखिएपछि दुई पटकसम्म जटिल शल्यक्रिया गरिएको र थप उपचारका लागि परिवारजनले आर्थिक सहयोगको याचना गरेपछि अभियान चलाइएको थियो ।

घर्तीको उपचारका लागि देश विदेशमा रहेका ताराखोलावासीबाट सहयोग उठेको क्लबका अध्यक्ष निउरेले बताउनुभयो । पहिलो चरणमा सङ्कलित रकम हस्तान्तरण गरिए पनि इच्छुक व्यक्तिबाट थप सहयोग जुटाइने उहाँको भनाइ छ ।

घर्तीको अहिले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष रोकाले गाउँमा स्थापित क्लबहरूले मानवीय सेवाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले खेलकुद र मनोरञ्जनका क्षेत्रमा मात्र क्लब सीमित हुन नहुने धारणा राख्नुभयो ।

देश विदेशबाट गरी ३०० बढीले घर्तीको उपचारका लागि आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष न्यूरेले जानकारी दिनुभयो । प्रतिव्यक्ति न्यूनतम रु एक सयदेखि रु ५० हजारसम्म र केही संस्थागत सहयोग पनि प्राप्त भएको उहाँको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्