कपिलवस्तुमा झाडापखालाले दुईको मृत्यु, दुई सय बढी बिरामी



झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा दुई जनाको मृत्यु भएको छ ।  कृष्णनगर नगरपालिकाका तीन वटा वडामा सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको हो । वडा ७, ८ र ९ मा गरी दुई सय बढी बिरामी परेका छन् ।

बहादुरगञ्जमा रहेको शिवराज अस्पतालमा अहिले ९६ जना बिरामीको उपचार भइरहेको छ । गम्भीर बिरामीमध्ये २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तौलिहवा र प्रादेशिक अस्पताल लुम्बिनी रिफर गरिएको छ । १३ जनालाई जिल्ला अस्पताल तौलिहवामा र सात जनालाई लुम्बिनीमा रिफर गरिएको शिवराज अस्पतालका डा. मुकेश चौधरीले जानकारी दिनु भयो ।

बिरामीको उपचारका लागि बेड अभाव भएको छ । अहिले कतिपय बिरामीको गाउँका निजी क्लिनिकमा उपचार भइरहेको छ । एउटै बेडमा दुई-तीन जना बिरामीलाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डा. चौधरीले जानकारी दिनु भयो । शिवराज अस्पताल छेउमै रहेको स्कुलको कोठा तथा टेन्टमा समेत बेडको व्यवस्था गरिएको छ ।

झाडापखाला कसरी फैलियो भन्नेबारेमा अध्ययन भइरहेको र अहिलेसम्म रिपोर्ट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
झाडापखालाका कारण कृष्णनगर–९ का पाँच वर्षका राज कश्यप र कृष्णनगर–८ का ४० वर्षका रामप्रसाद केबटको भने ज्यान गएको छ । उनीहरूको घरमै ज्यान गएको सूचना आएको शिवराज अस्पतालका डा.मुकेश चौधरीले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्