शीघ्र कुपोषित भएका बालबालिकाको गाउँपालिकामै उपचार सुरु



सल्यान । शीघ्र कुपोषित भएका बालबालिकाको गाउँमै उपचार हुने भएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले वडा नं ३ स्थित धनवाङ स्वास्थ्य चौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना गरेसङै कुपोषित भएका बालबालिकाको स्थानीय स्तरमै उपचार हुने भएको हो । शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनका लागि स्थापना गरिएको बहिरङ्ग उपचार केन्द्रको बुधवार कपुरकोट गाउँपालिकाका अध्यक्ष भीम बहादुर सेनले उद्घाटन गरे ।

केन्द्रमा कडा शीघ्र र मध्यम शीघ्र कुपोषण भएका बालबालिकालाई तयार पारिएको उपचारात्मक खानामार्फत उपचार गरिने स्वास्थ्य शाखाले जनाएको छ । उपचार केन्द्र सञ्चालनका लागि सुआहारा कार्यक्रमको पनि प्राविधिक सहयोग रहेको छ ।

पोषणको क्षेत्रमा सबै एकजुट भएर काम गर्नुपर्ने बताउँदै गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले कडा तथा मध्यम शीघ्र कुपोषण भएका बालबालिका पहिचान गर्नुपर्ने र कुपोषित बालबालिकालाई बहिरङ्ग उपचार केन्द्रमा ल्याई उपचार गर्न सबैमा आग्रह गरे ।

गाउँपालिकामै कुपोषित बालबालिकाको उपचार हुने भएपछि स्थानीयहरू हर्षित भएका छन् । कपुरकोट ६ सिनवाङ निवासी लिला पुनले गाउँघरमै कुपोषणमा परेका आफ्ना छोराछोरीको उपचार हुने भएपछि निकै खुसी लागेको बताइन् । तौल नै नबढ्ने समस्या भएपछि १५ महिनाका जुम्ल्याहा दुई बच्चाको उपचार गर्न उपचार केन्द्रमा ल्याएकी उनले आर्थिक अभावमा टाढा गएर उपचार गर्न नसकिएको बताइन् ।

धनवाङ स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ३ का वडा अध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा भएको उपचार केन्द्र उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढामगर, प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वली, स्वास्थ्य संयोजक अरुण दाहाल, सुआहारा कार्यक्रम सल्यानका संयोजक तोरण बुढाथोकी लगायत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सिनियर अहेव सुवाश हमालले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्