नाका स्तरिय खेलकुद प्रतियोगता सुरु , नाका क्षेत्रका बस्तीलाई सडक सञ्जालसँग जोड्नुपर्छ महरा



 

सैघाली खबर

दाङ, १३ फागुन ।  हरेक वर्षझैं यस वर्ष पनि दाङको डगमारा नाकामा नाकास्तरीय खेलकूद महोत्सव शुरु भएको छ । भारतीय सिमासँग जोडिएका दाङका २२ वटा नाकामा रहेका १० वटा विद्यालयहरुको सहभागितामा नाकास्तरीय खेलकूद महोत्सव शुरु भएको हो ।

नाकामा क्षेत्रमा यसरी खेलकूद महोत्सवको शुरुवात हुन थालेको १९ वर्ष पुगिसकेको छ ।राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारामा शुरु भएको खेलकुद महोत्सवको उद्घाटनमा यस वर्ष अरु वर्षका भन्दा विशिष्ट अतिथिहरु सहभागी हुन भएको थियो ।।

खेल महोत्सवको उद्घाटन गर्न कोइलाबास हुँदै भारतीय सडक प्रयोग गरेर पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा, ५ नं. प्रदेश सभा सदस्यहरु इन्द्रजित थारु, रेवतीरमण शर्मा, दामा शर्मालगायतका नेताहरु पुग्नु भएको थियो ।

 

‘भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता छ, नेपाली बस्तीलाई सडक सञ्जालसँग जोड्नुपर्छ’ पूर्व उपप्रधानमन्त्री महराले भने, ‘नाका क्षेत्रको समस्यासँग म नजिकबाट परिचित छु, वाम गठबन्धनको सरकारले योजनावद्ध बिकास गर्ने क्रममा नाकाको एकीकृत बिकासको लागि ध्यान दिनेछ । स्थानीय सरकारले पनि नाका क्षेत्रको विकासका लागि विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।

 

सडक र सञ्चारबाट जोड्न सके नाका क्षेत्रको विकास र समृद्धि धेरै माथि पुग्ने महराले बताउँनुभयो ।तपाईंहरुले सिमानाको रक्षा गरिरहनुभएको छ तर राज्यले तपाईंहरुलाई केही नसक्नु दुःखद छ,’ महराले भन्नुभयो, ‘अब नाकाको विकासलाई जिल्लाको मात्र होइन, राष्ट्रकै विकास योजनासँग जोडेर लैजानुपर्छ । राष्ट्रिय स्वाधीनताकै रक्षासँग जोडेर लैजानुपर्छ ।’

 

नाकास्तरीय खेलकुद समाजका अध्यक्ष श्यामबहादुर झाँक्रीको अध्यक्षता तथा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा खेलकूद महोत्सवको उद्घाटन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य रेवतीरमण शर्माले नाकालाई सडक सञ्जालबाट जोड्न प्रदेश सरकारले ध्यान दिने बताए । ‘नाका क्षेत्रका जनतालाई सुविधा दिन प्रदेश सरकारले ध्यान दिन्छ’ उहाँले भन्नुभयो ।

 

शिक्षा, स्वास्थ्यको विकासको लागि हामी प्रतिबद्ध छौं ।’ प्रदेश सभा सदस्य इन्द्रजित थारुले सञ्चारको सुविधा नाकामा ल्याउन पहल गरेको र केही समयपछि समस्या समाधान हुने बताए । प्रदेश सभा सदस्य दामा शर्माले नाका क्षेत्रका नागरिक सिमा रक्षक रहेको चर्चा गर्दै नाका क्षेत्रमा राज्यको उपस्थिति हुनुपर्ने बताए । राजपुर गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष श्यामबहादुर रोकाले गाउँपालिकाले नयाँ ट्रयाक खोल्न जग्रहवादेखि खाङ्ग्रा नाकालाई ५० लाख बजेट बिनियोजन गरेको बताए ।

कार्यक्रममा नाकाबासीहरुले नाका क्षेत्रलाई राज्यले उपेक्षा गरेको भन्दै वाम गठबन्धनको सरकारले बिकास गर्नुपर्ने माग राखेका छन् । ‘हाम्रो नाकामा बिकास चाहिएको छ, सञ्चारबाट बिमुख छौं, बाटो छैन, खानेपानी छैन, राम्रो विद्यालय छैन, औषधी उपचार गर्न भारतीय अस्पताल जानुपर्छ’ स्थानीय चक्रबहादुर खड्का ‘शिखर’ले भने, ‘सरकारले हाम्रो माग सुन्नै पर्छ ।’

ज्ञापनपत्रको चाङ

नाकाको विकासको लागि राज्यले ध्यान दिनुपर्ने भन्दै पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाइएको छ । विभिन्न विद्यालय र समुदायको तर्फबाट ज्ञापनपत्र बुझाइएको हो ।

कोइलाबास सडकको निरीक्षण

प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा, प्रदेश सभा सदस्य इन्द्रजित थारु, रेवतीरमण शर्मा र दामा शर्माले निर्माणाधीन लमही–कोइलाबास सडकको निरीक्षण गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्