टप फिचर

निर्देशक सुदर्शन थापाले सुप्रिया कटुवालसँग कसे लगनगाँठो

By Thah Online

October 08, 2021

काठमाडौँ । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् ।  गत महिना आफ्नो जन्मदिनको अवसर पारेर अभिनेत्री तथा समाचार वाचिका सुप्रिया कटुवालसँग औँठी साटेका उनी शुक्रवार विवाह बन्धनमा बाँधिएका हुन्। पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कसेका हुन्।

करिब एक वर्ष लामो प्रेम सम्बन्धलाई सुदर्शन र सुप्रियाले विवाहमा परिणत गरेका हुन् । सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुन्। चलचित्र ‘मेरो एउटा साथी छ’ निर्देशन गरेर चलचित्र क्षेत्रमा उदाएका सुदर्शनले ‘मेरो लभ स्टोरी, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

सुदर्शनको विवाहमा पारिवारिक सदस्यबाहेक फिल्मकर्मी निकै कम उपस्थित छन्। निर्देशक दिनेश राउत, अभिनेत्री वर्षा शिवाकोटी, सङ्गीतकार अर्जुन पाेखरेल, मोडल राज कटवाललगायत सुदर्शनका नजिकका फिल्मकर्मीको मात्र उपस्थिति रहेको छ ।

सुदर्शनले विवाहको प्रीतिभोजको आयोजना भने शनिवार गरेका छन्। उनले फिल्मकर्मी तथा परिवारका लागि शनिवार साँझ काठमाडाैंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका छन्।