भारतमा सक्रिय कोरोना संक्रमितको संख्या सात महिनापछिकै सबैभन्दा थोरै



नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमतहरूको संख्यामा कमी आएको छ। अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या पनि सात महिनापछिकै सबैभन्दा कम रहेको अधिकारीहरूले जानकारी दिएका छन्।

उनीहरूका अनुसार भारतमा अहिले दुई लाख ३६ हजार ६४३ जना सक्रिय सङ्क्रमितहरू रहेका छन्। अघिल्लो दिन भने दुई लाख ४० हजार २२१ जना रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका थिए।

भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि कम हुँदै गएको हो। पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या २३ हजार ७० रहेको छ। यो सङ्ख्या सोही अवधिमा नयाँ सङ्क्रमितहरूको भन्दा झन्डै चार हजार बढी हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्