लघु कथा ” भ्रष्टाचार,म र नाति”



हजुर आमा सानैमा परलोक भएकोले नातिको लागि हजुरामा बाबुआमा सबै नै मै हु। किनकि नातिका बाबुआमाको पनि डि भि परेर सानै छ्दा अमेरिका गइसकेका छन्। दुरदराजको गाउँमा नाति नै मेरो सहारा भविष्य र टेक्ने लौरो भएको छ किनकि मलाई समातेर यताउता डोर्‍याउने काम नातिले नै गरेको छ।उ नै मेरो छोरो हो बुहारी हो। आफू त डाँडा माथिको जून घाम नै भैसकेको छु।
     
त्यत्तिकैमा टि भि मा भ्रष्टाचार भएको समाचार आउँछ।हजुर बा यो भ्रष्टाचार भनेको के हो किन हुन्छ कहिले देखि यो लागु भो? नातिको प्रश्नको उत्तर सजिलोसँग दिन सकिने खालको छैन।जब बस्तु विनिमयको प्रथा अन्त्य भो त्यहाँ देखि नै भ्रष्टाचारको जन्म भो।किन गर्छन् भन्ने कुरोको उत्तर त म सँग पनि ओठे जवाफमा दिनु भन्दा अर्को विकल्प छैन। नाजायज रूपमा रुपैयाँ पैसा बस्तु लिनु नै भ्रष्टाचार हो भनी नातिलाई प्रष्ट पार्न खोज्छु तर आजकलका केटाकेटी न हुन त्यति सजिलो छैन।
   
बाबु यो भ्रष्टाचार राणाको पाला देखि सुरु भो पञ्चायत लोकतन्त्र हुँदै  गणतन्त्र सम्म आइ पुग्यो। यो मेरो जवाफ थियो नातिलाई। नातिको जवाफ आउँछ हजुरबुबा राणा कालमा भ्रष्टाचार थियो त पञ्चायतमा भ्रष्ट पाँच लोकतन्त्रमा भ्रष्ट छ र गणतन्त्रमा भ्रष्ट सात हुनुपर्ने होइन र ? किनकि किनकि कुनै पनि चिज बढ्छ सधैँ एउटै रहँदैन भनेको होइन र हजुरबुबा? उफ! नातिको कुरो पनि गहिरो छ ओठे जवाफमा पूर्णरूपमा पाउँदैन। साँच्चिकै नातिको कुरो जहाज नै छ।एउटा बिरुवा रोपेपछि बढ्छ सधैँ उत्रै त हुँदैन। के सधैँ भ्रष्टाचार मात्रै भनी रहने त पक्कै नातिले भने झैँ यो झाँगिएर ठुलो भैसकेको छ अब । अलि ठुलो सबै अटाउने नाउँको आवश्यकता भई सक्यो। सधैँ चार नै रहन्छ त! बैङ्कमै राख्ने हो भने पनि यो त दोब्बर भई सक्नु पर्ने। नातिको कुरोले मेरो मनमा कालो बादल मडारिएको छ। सधैँ सानै मात्रै देख्ने त! यता यसलाई नयाँ नाउँ दिएर जानु पर्‍यो यता यसलाई पुरै मासेर नयाँ बिज रोप्नु पर्‍यो ताकि अब त कहिल्यै भ्रष्टाचार नहोस् अब।

उता गैरी खेत बाँझो नै छ हल गोरु छैनन् घरमा ।पाल्ने कसरी एउटा भएको नाति स्कुल जान्छ पढ्न म बूढोले के नै गर्न सक्छु। नाति पढाउँदाको स्कुलको शुल्क अनि राज्यले विदेश बाट लिएको ॠण जुन बाउन्न हजार उफ मेरो टाउकोमा त छ तर यो कलिलो नातिको टाउकोमा पनि छ।कसरी यसबाट मुक्ति पाउने होला।

दसैँ पनि त आइसक्यो कमेरोले घर पोत्नु पर्ने रातो माटो पनि लाउन पर्ने गाउँमा युवाहरू छैनन्।नातिले चिची खाने भन्दै छ गैह्रा घरे कान्छोले खसी काट्छ कि मासु त ल्याइदिएर नातिको दसैँ त मनाइदिनै पर्‍यो।
     
हजुरबुबा हजुरबुबा हाम्रोमा लिङेग पिङ कहिले हाल्ने? नयाँ नाना कहिले सिलाउने? यो प्रश्नले मलाई सोच्न बाध्य नै भए यो गरिबीको औषधी किन नबनेको होला? हुन्छ नाति म व्यवस्था गर्छु भनेर नातिको ओठमा त हाँसो ल्याउनै पर्‍यो।मेरो रातो अनुहार देखेर नातिले भन्छ हजुरबुबा हामी पनि एउटा भ्रष्टाचारको रुख रोपौन मज्जाले दसैँ मनाउन हुन्न  र? मलाई यो नातिको शब्दले स्तब्ध बनायो। यो भ्रष्टाचार भन्नेलाई जरैदेखि उखेलेर फ्याँक्न पाए हामी सबै गरिबको घरमा पनि समान दसैँ आउँथ्यो कि? अबको पुस्ताले राम्रोसँग दसैँ मान्न पाउँथ्यो कि ?यत्तिकैमा तल आवाज आयो लिङ्गे पिङ हाल्ने हल्ला म नातिलाई लिएर जान्छु किनकि नातिले जान्नु पर्छ यो परम्परा र संस्कृतिलाई जीवन्त राख्न ।

कथाकार राज कुमार कार्की 
मे न पा -१५ झापा।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्