Banner Second

मन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत

By Thah Online

October 10, 2021

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको  राजीनामा स्वीकृत भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ। नियुक्तिका विषयमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए । विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्हरूले प्रश्न उठाएपछि पदबाट राजीनामा गरेको हमालले बताएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू, म लामो समयदेखि काँग्रेसको विभिन्न पदहरूमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्याङ्कन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु,’ हमालले राजीनामा पत्रमा भनेका छन्, ‘हाल विभिन्न सञ्चारमाध्यमहरूमा सम्प्रेषित समाचार तथा कानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौँसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबिच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशङ्काकै बिच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’