लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीको टुंगो लाग्यो, को–को बन्दै छन् मन्त्री ?




बुटवल । लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।   सरकारमा सहभागी हुने मन्त्रीको नाम काँग्रेस, माओवादी केन्द्रबाट टुङ्गो लागेकाले आज उक्त प्रदेशको मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

सम्भवत आजै नवनियुक्त प्रदेश मन्त्रीहरूलाई शपथ खुवाउने पनि कार्यक्रम रहने भएको छ । नेपाली काँग्रेसले वन, वातावरण तथा भूसंरक्षणमा सुरेन्द्र हमाल, शिक्षा विज्ञान युवा तथा खेलकुदमा वसिउद्दिन खाँ र ऊर्जा, जलस्रोत तथा सिँचाइमा वीरबहादुर रानालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ । त्यसै गरी स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री बन्ने भएका छन् ।

माओवादीबाट दाङकी विमला खत्री वली राज्यमन्त्री,प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनेका छन् । त्यसै गरी माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने पक्का भएको छ ।

माओवादीले टुङ्गो आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

माधव नेपाल नेतृत्वको एक जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादीबाट भने रमा घर्ती मन्त्री बन्ने पक्का भएको छ ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि नै मुख्यमन्त्रीसहित माओवादीका २, काँग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्