Banner First

विप्लव नेतृत्वको नेकपाका नेता चन्दको निधन

By Thaha - Online

October 15, 2021

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता बिक्रम चन्द ‘बिरजंग’को निधन भएको छ। ६१ वर्षीय बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन्।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्याबाट पीडित बिरजंगको उपचारको क्रममा गएराति भारतको नयाँ दिल्लीस्थित म्याक्सीस अस्पतालमा निधन भएको हो।

जनयुद्ध कालमा तत्कालिन नेकपा (माओवादी) को पर्वत र बाग्लुङको ईन्चार्जको जिम्मेवारीमा रहेर काम गरेका बिरजंग सरल र त्यागी नेताको रुपमा चिनिन्थे। पछिल्लो समय उनी विप्लवसँगै भूमिगत भएर आन्दोलनमा क्रियाशील थिए।

केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका बिरजंग कारागारमा रहदा समेत पटक-पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए। कपिलबस्तुको शिवराज गढीका स्थायी बासिन्दा ६१ बर्षिय बिरजंगका दुई छोरा र एक श्रीमती छन्।

विप्लव नेतृत्व नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति जारी गरेर बिरजंगको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन्। उनले पार्टी जीवन र क्रान्तिकारी आन्दोलनमा बिरजंगको अभाव सदैव खड्किरहने बताए। बिरजंगको निधनमा ३१ गतेसम्म तीन दिन देशभरका पार्टी कार्यालयहरूमा पार्टीको झण्डालाई आधा झुकाइने पनि उल्लेख छ।