मुख्य समाचार

विश्व रक्तदाता दिवस एक प्रतिशतले मात्रै रक्तदान गरे अभाव हुँदैन

By थाहा अनलाइन

June 14, 2017

जेठ ३१ 

 

विश्व रक्तदाता दिवस बुधबार ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा। कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो । नेपाल सरकारको निर्णयबाट नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गतेदेखि संस्थागत रुपमा रक्तसञ्चार कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ । रक्तसञ्चार सेवाको ५० वर्षको इतिहासमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न रक्तदाता सङ्घसंस्था र स्वयम्सेवी रक्तदाताको सहयोगमा रक्त सङ्कलन गरी आवश्यक सेवा पुर्‍याउँदै आएको छ । नेपालमा अहिले देशभरि एक दिनमा झन्डै दुई हजारजना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको रक्तसञ्चार सेवा केन्द्रको अनुमान छ । ७२ जिल्लामा १०५ स्थानबाट रक्तसञ्चार सेवा पुर्‍याउँदै आएको छ । आवश्यकता र मागबमोजिम केन्द्रीय, क्षेत्रीय, जिल्ला, अस्पताल इकाई र आकस्मिक स्तरको रक्तसञ्चार केन्द्रबाट सेवा पुर्‍याउँदै आएको रेडक्रसले जनाएको छ । विभिन्न आविष्कारको बाबजुद पनि कृत्रिम रगत बनाउन सकिएको छैन । त्यसैले स्वस्थ व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान साबित भएको छ । यसरी मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयम्सेवी रुपमा अभिवृद्धि गर्नका लागि विविध कार्यक्रमलाई निरन्तरता दिन जरुरी देखिन्छ । विश्व स्वास्थ्य संगठन  डब्लुएचओ ले नेपालमा दुई वर्षअघिको भूकम्पका कारण रगतको माग बढेको र स्वयम्सेवी रक्तदाताको सहयोगले नेपालमा रगतको दीगो व्यवस्थापन गर्न सकिएको भन्दै सहयोगी सबैलाई धन्यावाद दिएको छ । यस्तै डब्लुएचओले भविष्यमा आउन सक्ने विपत्तिको अवस्थामा तयार रहनका लागि रक्तदानका लागि अहिले नै अग्रसर हुन सबैसँग आग्रह गरेको छ । विपद कहिले र कहाँ आउँछ भन्ने थाहा नभएपछि त्यस्तो विपदका पीडितलाई रगतको अवाश्यकता पर्ने भएकाले त्यसको पूर्वतयारी अहिले देखि नै गर्नु सबैको कर्तव्य रहेको डब्लुएचओको भनाई छ । विश्वका धेरैजसो देशमा देशको जनसंख्याको एक प्रतिशतले रक्तदान गरेमा रगतको आधारभुत माग पुग्ने गरेको छ । यस्तै अहिले विश्वका ५७ देशमा मागको शतप्रतिशत रगत स्वयम्सेवी रक्तदाताबाट संकलन हुने गरेको छ । महिला, बालबालिका तथा वृद्धवृद्धामा रगतको माग बढी हुने भएकाले उनीहरुलाई रगतको पहुँचमा राख्न सबैले जोड दिनुपर्ने डब्लुएचओले जनाएको छ ।