सर्पले टोकाएर आफ्नी श्रीमतीको ह’त्या



एजेन्सी

सर्पले टोकाएर आफ्नी श्रीमतीको ह’त्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरो आजीवन कारावासको सजाय तोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी श्रीमती उत्तरालाई अति विषालु सर्पले टोकाएका थिए । न्यायाधीशहरुले यस अपराधलाई ‘दुर्लभमध्येको दुर्लभ अपराध’ भनेर चित्रण गरेका छन् ।

सुरजले पहिले उत्तरा भए ठाउँ अति विषालु सर्प रसल्स भाइपर राखिदिएका थिए, जसको टोकाइको कारण झन्डै दुई महिनासम्म उत्तराले अस्पतालमा बिताउनुप–यो । बल्ल निको भएर उनी माइतीघरमा आराम गर्दै थिइन् । यही बेला सुरजले सर्प पाल्ने एक व्यक्तिमार्फत कोब्रा सर्प मगाए । त्यसपछि सुतिरहेकी श्रीमतीमाथि उक्त कोब्रा फाले । कोब्राले टोकेपछि मे २०२० मा २५ वर्षीया यी महिलाको मृ’त्यु भयो । यही अभियोगमा केरलाको कोल्लाम जिल्लास्थित अदालतले सुरजलाई सोमबार दोषी ठहर गरेको हो ।

उत्तराका आमा–बाबुले नै ज्वाइँप्रति शङ्का व्यक्त गरेपछि गत वर्ष हत्या आरोपमा प्रहरीले सुरजलाई उनकै घरबाट पक्राउ गरेको थियो । आफ्नी छोरीलाई थप दाइजोका लागि यातना दिएको बाबुआमाको आरोप थियो । बाबुआमाका अनुसार सुरजले श्रीमतीको हत्या गरेर उनको सम्पत्तिमाथि कब्जा जमाउन खोजेका थिए ।

सुनियोजित षड्यन्त्र
सुरजले हत्या आरोपमा आफ्नो संलग्नता नरहेको बताएका थिए । तर फोन रेकर्ड हेर्दा उनी सर्प पाल्ने व्यक्तिसँग सम्पर्कमा रहेको र हत्याअघि धेरै पटक इन्टरनेटमा उनले सर्प सम्बन्धी भिडियोहरू हेरेको प्रहरी छानबिनका क्रममा भेटिएको छ । कोब्राले श्रीमतीलाई टोकेपछि पनि सुरज उनीसँगै कोठामा थिए । तर, अर्को दिन उनी नियमित काममा गएका थिए । ‘यो हत्या सुनियोजित देखिन्छ । यो अति दुर्लभ प्रकरण हो,’ मृत्युदण्डको सजाय माग गरेका एक अभिवक्ताले भने । उत्तराको माइती निकै सम्पन्न परिवार हो । उनका श्रीमान् भने बैङ्कमा सामान्य काम गर्दथे । उनीहरू विवाहमा ठुलो दाइजो दिइएको थियो । जसमा एउटा कार र ५ लाख भारु समावेश छ । मिडिया रिपोर्टस्अनुसार उत्तराको हत्यापछि उनीका केही सुनका गहनाहरू सुरजको घर नजिकै गाडिएको अवस्थामा भेटिएको थियो । जस कारण, सुरजको परिवारमाथि शङ्का अझै बढ्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्