प्रकृतिले दिएको वामी नामक वृत्तचित्र गीत सार्वजनिक



विश्व वामी सम्पर्क मञ्च परिवारद्वारा प्रस्तुत डकुमेन्ट्रि गीत “प्रकृतिले दिएको वामी”  सार्वजनिक भएको छ। आइतबार साँझ जुम एप्लिकेसन मार्फत भएको विमोजन कार्यक्रमबाट सो गीत सार्वजनिक गरिएको हो।

वामी क्षेत्रलाई केन्द्रमा राखेर पहिलो पटक निर्माण गरिएको वृत्त चित्र सहितको गीतको विमोचन गर्दै वरिष्ठ लोकगायक बम बहादुर कार्कीले लोकगीत समाज सँग जोडिएको हुने बताउनु भएको छ।

सार्वजनिक गरिएको वृत्त चित्रमा कुनै खोटको ठाउँ नभएको भन्दै, शब्द, सङ्गीत, स्वर, लय सबै उत्कृष्ट रहेको र गीतबाट आफू सहित धेरैले सिक्ने बताउनु भएको छ। गायक कार्कीले प्रकृति र संस्कृतिलाई जोड्दै देशकै वृत्तचित्र बनाउनु पर्ने आवश्यकता औँल्याउनु जीवनको उत्तरार्ध सम्म पनि सिर्जनामा तल्लीन हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। गुल्मीको पहिचान दिन व्यक्तिगत रूपमा लागि परे पनि संस्थागत प्रयास सुरु गर्नुपर्ने आवश्यकता महसुस भएको गायक कार्कीले बताउनु भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य खड्का बहादुर केसिले वामीले धेरै कलाकर्मी, संस्कृतिकर्मिहरुको जन्मिदिएको भन्दै गीत सँग सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ। वामी वह जाति, बहुसाँस्कृतिक विविधता युक्त समुदाय भएको भन्दै सबै समुदायका संस्कृतिहरू जगेर्ना गर्न निरन्तर लाग्न र कलाकर्मीहरूलाई नथाक्न आग्रह गर्नुभएको छ ।

त्यस्तै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले “प्रकृतिले दिएको वामी” भन्ने डकुमेन्ट्री गीतले जन्मथलोको भौगोलिक, सांस्कृतिक र प्राकृतिक पक्षलाई उजागर गरेको र वामी बासिलाई गर्ववोध भएको बताउनु भएको छ। मेयर सापकोटाले सो गीत पाठ्य सामाग्री समेत हुन सक्ने भन्दै मुसिकोट नगरपालिका स्थापना भएकोले सिँगो नगरपालिकाको पहिचान बोक्ने सामाग्री आवश्यकता रहेको बताउनु भएको छ ।

कार्यक्रममा वामी विश्व सम्पर्क मञ्चका संस्थापक अध्यक्ष प्रा.डा. तारा प्रसाद सापकोटा, प्रा.डा. ज्ञान बहादुर थापा, प्रा.डा. जिवलाल सापकोटा, स्रष्टा रामचन्द्र चन्द, रिता केसि लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै वामीको संस्कृति उजागर गर्न गीत महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

विमोचन कार्यक्रम वामी विश्व सम्पर्क मञ्चका अध्यक्ष प्रा.डा. इश्वरी पाण्डेको अध्यक्षता, नौमति सांस्कृतिक समितिका संयोजक वैकुण्ठ रायमाझिको स्वागत मन्तव्य, प्रवक्ता हेमनाथ खरेलको धन्यवाद मन्तव्य तथा वामी विश्व सम्पर्क मञ्चका महासचिव रोमकान्त सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

गुल्मीको मुसिकोट नगरपालिकाको वडा नं. ७ र ८ मा पर्ने साबिक वामी गाविसलाई पूर्ण रूपमा समेटिएको सो गीतमा वामीको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक विविधतालाई झल्काइएको छ। स्वर्गीय बिजु बज्रको सङ्गीत, तिलक बस्नेत र रिता केसिको स्वरमा रहेको सो गीतमा विष्णु सापकोटा र वैकुण्ठ महतले शब्द सिर्जना गर्नुभएको हो। सिम्रन बज्राचार्य, वैकुण्ठ रायमाझी, विवेक काफ्ले को अभिनय रहेको सो गीतको भिडियोमा इशिका तिवारी, सुगम तिवारी, विनिशा बौद्धाचार्य, निलिशा जिसि लगाएतका बाल कलाकारले प्रस्तुति रहेको छ। रविलाल पौडेलको निर्देशन, देविराम घिमिरेको छायांकन रहेको सो म्युजिक भिडियोको सम्पादन दीपक श्रेष्ठ र रामचन्द्र चन्द ले गर्नुभएको छ। सिङ्गो वामी क्षेत्रको पहिचानको रूपमा प्रस्तुत गरिएको सो वृत्तचित्र गीत सेरोफेरो नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्