प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, यस्तो भयो निर्णय



सैघाली खबर,काठमाडौं १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार विस्तारका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नामसमेत प्रधानमन्त्रीलाई बुझाएका छन् ।

अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार आज अपराह्न ४ बजे मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएकाले पार्टीको तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइएको छ ।

माओवादी केन्द्रले नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । माओवादी केन्द्रका अनुसार सबै प्रदेशको प्रतिनिधित्व र कार्यक्षमता प्रदर्शन गर्न सक्नेलाई मन्त्रिमण्डलमा पठाइएको छ ।

प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाइएको भए पनि प्रमुख स्वकीय सचिव महराले भने नाम सार्वजनिक गर्न चाहेनन् । उनले भने, ‘सबै वर्ग, क्षेत्र तथा कार्यक्षमता हेरेर पार्टीले निर्णय गरेको छ । शपथ ग्रहण समारोहमा नै नाम सार्वजनिक भइहाल्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । यही फागुन ३ गते ओली नेतृत्वमा वाम गठबन्धनको सरकार गठन भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्