धान भित्र्याउने बेला वर्षा भएपछि खेतमै डुब्यो धान, किसान चिन्तित



कैलाली । कात्तिकको सुरुमा परेको पानीले देशव्यापी रूपमा धानबालीमा ठुलो क्षति पु¥याएको छ । सबैभन्दा बढी सुदूरपश्चिम र क्रमशः पूर्वमा क्षति पुगेको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान मारमा परेका छन् ।

सुदूरपश्चिम क्षेत्रको अन्न भण्डारका रूपमा परिचित कैलाली र कञ्चनपुर जिल्लामा मनसुन सकिएपछि फर्केको वर्षाले धानबालीमा ठुलो नोक्सान भएको छ । आइतबारदेखि लगातार वर्षा भइरहेको छ । कैलालीमा ५० प्रतिशत धान अझै खेतमा रहेको छ भने कञ्चनपुरमा ३० प्रतिशत काट्न बाँकी छ । कैलालीमा क्षतिको यकिन हुन नसकेको भए पनि कञ्चनपुरमा १० देखि १५ प्रतिशत धानमा क्षति पुगेको अनुमान छ ।

कालिकोटका विभिन्न स्थानका खेतमा पाकेर काटेको मार्सी धान खेतमै डुबेको छ । गएरातिदेखि परेको निरन्तरको पानीले गर्दा काटेको धान खेतमै डुबेको हो । बादल मडारिएको देखे पनि किसानले कात्तिकमा खासै पानी पर्दैन भन्ने पुरानो अनुभवले खेतमा धान काटेर एकैनासले सुकाएका थिए ।

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिणी क्षेत्रमा विशेष गरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानका खेतमा धान पाकिसकेको थियो । रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगायतका स्थानीय तहमा अहिले धान काटेको अवस्थामा खेतमै डुबेको छ भने थोरैले मात्र उठाउन भ्याए ।

झापामा दुई दिनदेखि लगातारको हावाहुरीसहितको वर्षाका कारण पसाउन लागेको धानमा क्षति पुगेको छ । दमक–३ का सुकदेव लुइँटेलका अनुसार पसाउन लागेको धानबालीमा हावाहुरीले ठुलो क्षति पु–याएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्