मुख्य समाचार

मोहन वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे उपराष्ट्रपति र गृहमन्त्री

By Thaha - Online

October 19, 2021

काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुन  र गृहमन्त्री बालकृष्ण खाँड थापाथलीस्थित नर्भिक अस्पताल पुगेर नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  

दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल पुगेका थिए । उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । 

नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए । सो क्रममा उनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए । उपराष्ट्रपति निस्किएपछि सङ्घीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडसमेत नेता वैद्यलाई भेट्न नर्भिक पुगेका थिए । सो क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देशसमेत वैद्यलाई सुनाएका थिए । 

वैद्यको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए। उनलाई दमलगायत समस्या देखिएको छ।