फिफा वरीयतामा एक स्थान तल झर्‍यो नेपाल



काठमाडौं । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार  सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल अघिल्लो महिनाभन्दा एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औँ स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ औँ स्थानमा थियो ।

साफमा नेपालले मालदिभ्स र श्रीलङ्कालाई पराजित गरेको थियो भने बङ्गलादेशसँग बराबरी खेलेको थियो । भारतसङ भने लिग र फाइनल गरी दुई पटक पराजित भएको थियो ।

माल्दिभ्समा अक्टोबरको १ देखि १५ तारेखसम्म भएको साफ च्याम्पियन्सिपमा पहिलो पटक फाइनलमा पुगे पनि नेपालको वरीयता भने खस्किएको छ ।

दक्षिण एसियाली राष्ट्रको वरीयता हेर्दा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत एक स्थान सुधार गर्दै १०६ औँ स्थानमा उक्लेको छ भने मालदिभ्स दुई स्थान सुधार गर्दै १५६ औँ स्थानमा छ ।

यस्तै फिफाको प्रतिबन्धमा रहेको पाकिस्तानको वरीयता पनि एक स्थान सुधार हुँदै १९७ औँ स्थानमा छ । श्रीलङ्का एक स्थान सुधार गर्दै २०४ औँ स्थानमा उक्लेको छ । नेपालभन्दा पछि रहेकामध्ये भुटान र बङ्गलादेश भने स्थान सुधार गर्दै क्रमशः १८६ औँ र १८७ औँ स्थानमा उक्लेका छन् ।

विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत् छ भने ब्राजिल दोस्रो स्थानमा कायमै छ । फ्रान्स र इटली एक स्थान सुधार गर्दै तेस्रो र चौथो स्थानमा उक्लेको छ । इंग्ल्याण्ड पाँचौँ स्थानमा छन् ।

अर्जेन्टिना छैटौँ, स्पेन सातौँ र पोर्चुगल आठौँ स्थानमा झरेको छ । मेक्सिको नवौँ र डेनमार्क दसौँ स्थानमा यथावत् छन् । एसियाली राष्ट्रमा इरान २२ औँ र जापान २८ औँ स्थानमा झरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्