सैघाली खबर
दाङ, १४ फागुन ।शहिदहरुको सम्झनामा शहिद तथा वेपत्ता परिवारहरुलाई आज दाङका विभिन्न ठाउँमा अभिनन्दन गरिएको छ । बलिदान दिवस तथा शहिद सप्ताहको अवसरमा नेपाल कम्युनिष्ट पार्टी दाङ र नेकपा क्रान्तिकारी माओवादी दाङको संयुक्त तथा नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा जनयुद्धका शहिद परिवारहरुलाई आज विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरि अभिनन्दन गरिएको छ ।
दाङको तुलसीपुर र घोराही ३ बेलुवामा संयुक्त आयोजना र गढवा र राजपुर राप्ती गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी दाङको आयोजनामा शहिद परिवारहरुलाई सम्मान पत्र तथा प्रतिबद्धता पत्रले अभिनन्दन गरिएको थियो । घोराही ३ बेलुवाको शहिद पार्कमा भएको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी दाङका इन्चार्ज सविन पोख्रेलले जनयुद्धका शहिदहरुको रगतको मुल्य चुक्ता गरिछाड्ने अठोत व्यक्त गर्नुभयो ।
जनयुद्धका शहिदहरुले जुन उदेश्यका साथ रगत बगाउनुभयो उक्त रगतको मुल्यलाई कुठाराघात हुन नदिन एक पटक फेरि क्रान्तिकारी आन्दोलनमा होम्मिएको बताउँदै सम्पूर्ण शहिद परिवारलाई साथ दिन अपिल गर्नुभयो । जनयुद्धका सम्पूर्ण भावनाहरुलाई छाडेर प्रचण्डहरु एमालेकरण प्रतिक्रियावादीकरण भएको बताउँदै उनीहरुले शहिदपरिवारप्रति गरेको धोका, गद्धारीका विरुद्ध आवाज उठाउन आह्वान गर्नुभयो । हिजो जुन व्यवस्थाका विरुद्धमा लड्यो, अहिले उहि व्यवस्थामा गएर प्रचण्डहरु क्रान्तिकारी आन्दोलनलाई दबाउनका लागि हाम्रा विरुद्ध बन्दुक तेर्साइरहेको छन्, वारेन्ट जारी गरिरहेका छन्, शान्तिपूर्ण कार्यक्रममा दमन, धरपकड गरिरहेका छन्, जनताका आवाज कुल्चिरहेका छन्, त्यसकारण उनीहरुको प्रतिक्रिया वादी करणका विरुद्ध शहिद परिवारलाई फेरि एक पटक ढुक्कका साथ जुट्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सविनले आजको दिनले क्रान्तिमा लाग्न, क्रान्तिबाट विचलित नहुन र धोका नदिन निर्देशन गरिरहेको बताउँदै दलाल संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिकारी आन्दोलनलाई एकाकार गर्दै पूरा गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याउनुभयो । ९ जना निर्दोष किसानहरुको सामुहिक हत्या भएको सम्झनामा निर्माण गरिएको शहिद पार्कमा नेकपा क्रान्तिकारी माओवादीका ५ नं. प्रदेश सदस्य माधव खनालको अध्यक्षतामा भएको कार्यक्रममा घोराही नगर इन्चार्ज बिहानी चौधरी, शहिदपरिवारबाट सन्दर चौधरी, क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी चौधरी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष जानकी चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेकपाका नगर सेक्रेटरी जनक विकले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडेले सञ्चालन गर्नुभएको थियो ।
यसैबीच दाङको तुलसीपुरमा पनि नेपाल कम्युनिष्ट पार्टी दाङ र नेकपा क्रान्तिकारी माओवादी दाङको संयुक्त आयोजनामा शहिदहरुलाई अभिनन्दन गरिएको छ । नेकपाका राप्ती ब्यूरो सदस्य तथा वेपत्ता परिवारका केन्द्रीय सदस्य राम बहादुर थापा सुन्दरको अध्यक्षता तथा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुखीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन तुलसीपुर नगर इन्चार्ज किरण डांगीले गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले जनयुद्धका अधुरा सपना पूरा गर्न क्रान्तिमा शहिद परिवारहरुको ठूलो साथ र सहयोगको अपेक्षा रहेको बताएका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी दाङको आयोजनामा आज नै देउखुरीको राजपुर, गढवा र राप्ती गाउपालिकामा पनि त्यहाँका शहिद परिवारहरुलाई अभिनन्दन गरिएको नेकपा दाङले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।