काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ सोमबारबाट गृहमन्त्रको पदभार समालेका छन् । माकेबाट सरकारमा सहभागी हुनेमध्ये बादल सबै सिनियर नेता हुन् ।
राष्ट्रिय सभा सदस्यमा प्रदेश नम्बर ३ बाट निर्वाचित बादललाई राष्ट्रियसभा अध्यक्षको रुपमा हेरिएको थियो तर उनकै इच्छाअनुसार सरकारमा जानेहरुको पहिलो नम्बरमा परे । सुरुमा बादलले कुन मन्त्रालयको जिम्मा पाउने भन्ने कुराको टुंगो नलाग्दासम्म अरु नेताहरुले पनि गृहमन्त्रीको लागि दौडधुप समेत गरेका थिए ।
विशेषगरी नेता वर्षमान पुनले त अरुभन्दा एक हात अगाडि पुगेर आफ्नो नेता प्रचण्ड नभएर प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका थिए । एक पत्रिकालाई दिएको अन्तरवार्तामा पुनले बोलेको उक्त अभिव्यक्तिलाई गृहमन्त्रालयको लागि चाकरी गरेको रुपमा माके नेताहरुले नै अर्थ लगाएका थिए ।
बादल यस्तो अवस्थामा गृहमन्त्री भएका छन्, एक केही समयअघिसम्म सँगै बसेर काम गरेका सहकार्मीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले अनौपचारिक रुपमा प्रतिवन्ध लगाएको छ । उसका सबै शान्तिपूर्णमाथि प्रधानमन्त्रीको ठाडो आदेशमा हस्तक्षेप भइरहेको छ । नेता-कार्यकर्तामाथि निगरानी, धरपकड र गिरफ्तार बढाइएको छ । नेकपाका स्थायी समिति सदस्य अर्थात बादलका सहयोद्धा हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित दजर्नौ नेताहरुलाई गिरफ्तार गरिएको छ ।
दमनले विद्रोह जन्माउँछ भन्ने खुराको राम्रो जानकार भएका बादल गृहमन्त्री भएपछि आगामी नीतिबारे चाँसो राखेका छन् । खासगरी नेकपामाथि कस्तो नीति लेलान् भन्ने सबैले हेरका छन् । राजनीतिक मुद्दालाई दमन गरेर समाधान हुँदैन भन्ने कुरा बादलले राजनीतिक जीवनभर सिकाएको विषय हो ।
बादलले गृह मन्त्रालयको चावी समात्नुअघि नै प्रधानमन्त्री ओलीले जनयुद्धकालि अवस्थामा बनाइएको प्रहरीका संरचना ब्यूताएर नेकपामाथि दमनको नीति लिइरहेका छन् । अब बादलले त्यही नीतिलाई अगाडि बढाउछन् वा दमन होइन संवादको नीति लिन्छन् हेर्न बाँकी छ ।
पुष्पकमल दाहालले जनयुद्धका एजेण्डलाई सडकमा छोडेर देश र जनताप्रति गद्दारी गरेको भन्दै बादल र विप्लवकै पहलमा पार्टी विभाजन भएको थियो । दुबै नेता मिलेर दाहाललाई धोवीघाटमा लगेर पहिलो पटक आछुआछु पारेका थिए ।
फेरि क्रान्तिलाई जारी राख्ने भन्दै मोहन वैद्यको नेतृत्वमा विप्लव र बादलको पहलमा नयाँ पार्टी गठन भयो । तर, विप्लव र बादलको सहयात्रा लामो समय भने भएन । विप्लवले वैद्यको नेतृत्वमा क्रान्ति सम्भव नभएको भन्दै फेरि नयाँ पार्टी बनाएर अगाडि बढे भने बादल पुनः पुरानै घरमा फर्किए । वर्तमान राज्य व्यस्थालाई दलाल भन्दै विप्लवले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्षमा छन् ।
व्यक्तिगत सम्बन्धका हिसाबले बादल र विप्लवबीच कहिलै घोचपेच भएन । एमाओवादीभित्र चलेको अन्तरसंघर्षमा पनि विप्लव र बादलबीच कहिलै नराम्रो भएन । विचारको बहसमा विप्लव खरो रुपमा उत्रे भने बादल लामो समयसम्म बीचमै बसेर दुबै पक्षलाई मिलाए ।बालाजु, खरिपाटी हुँदै पालुङटारसम्म आउँदा पनि बादल र विप्लवबीच आन्तरिक रुपमा राम्रो सम्बन्ध थियो । धोवीघाट गठबन्धनपछि मात्रै बादल खुले दाहालविरुद्ध राजनीतिक प्रहार गर्न लागेका थिए ।
विप्लव र बादलबीच अलिअलि घोचपेच भनेको वैद्य माओवादीको बेला देखिएको थियो । वैद्य माओवादीबाट विप्लव छुटिने अन्तिम बैठकमा देव गुरुङलगायता नेताहरुले विप्लवलाई कारवाहीको माग गर्दा बादलले पनि समर्थन गरेका थिए । कुपण्डोलको त्यो अन्तिम बैठकबाटै विप्लवले सम्बन्ध विच्छेदको घोषणा गरेपछि भने बादलसँग लामो राजनीतिक दुश्मनी बढ्न पाएन । विप्लवले पनि बादललाई सधै सम्मान गर्ने गर्छन् । बादललाई ‘दाई’ भनेर विप्लवले सम्बोधन गर्ने छन् । पार्टी विभाजनपछि पनि विप्लव र बादलबीच कुनै आरोप प्रतिअारोप लगाएका छैनन् ।
विप्लवले समानात्तर सत्ताको संरचना बनाएको बेला फेरि बादल गृहमन्त्री भएका छन् । यसलाई विप्लव र बादल आमनेसामने आएको रुपमा पनि हेरिएको छ । जनयुद्धका सुरुवाती ‘सिज’ अभियानलगायत वर्ग संघर्षका घटनाको बादलले प्रत्यक्ष नेतृत्व गरेका थिए । त्यतिबेला राज्यपक्षले माओवादीमाथि गरेको दमनले निम्त्याएको विद्रोहको नेतृत्व गरेका बादलले विप्लवमाथि कस्तो नीति लेलान् हेर्न बाँकी छ । यो बादलको लागि चुनौतिको घडी पनि हो ।
पदभार सम्हाल्दै बादलले जनअपेक्षाअनुसार काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । विकास र सम्बृद्धि होस् भन्ने जनचाहना स्थिरता र स्थायित्वबाट मात्र सम्भव हुने भन्दै उनले त्यसका लागि काम गर्ने बताए ।
सपथ लगतै गृह मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै बादलले जनअपेक्षाअनुसार काम गर्ने बताएका गृहमन्त्री बादलले दोहोर अर्थ लाग्नेगरी पश्चगामी शक्तिहरुले राजनीतिक परिर्वतन उल्टाउन र अस्थिरता बढाउन चाहेको भन्दै सचेत रहन आग्रह गरे । उनले कसलाई प्रतिगामी भनेका हुन् भन्ने कुनै संकेत गरेनन् ।
नेकपाले उठाएका राजनीतिक मुद्दामाथि दमन होइन राजनीतिक ढंगबाट हल गर्नेतिर बादलको भूमिका रहने माओवादी कार्यकर्ताहरुले अपेक्षा राखेका छन् । जनयुद्धका सैन्य योजनाकार बादलले जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने भन्दै विप्लवले अगाडि बढाएको राजनीतिक अान्दोलनलाई कुन नजरले हर्नेछन् ? यो प्रश्नको उत्तर अाउन थोरै दिनमात्रै कुर्नु पर्नेछ । अनलाइन डवलीबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।