शेयर बजार घट्दा रेमिट्यान्सले समायो हुण्डीको बाटो



काठमाडौं : नेपाली शेयर बजारको घट्दो क्रमसँगै वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले पनि हुण्डीको बाटो समाएको विज्ञहरूले बताएका छन् । नेपाली शेयर बजार प्रविधिमैत्री भएपछि विश्वभर छरिएका नेपालीले कोरोना भाइरस सङ्क्रमणसँगै नेपाली शेयर बजारमा लगानी गर्न सुरु गरेका थिए भने रेमिट्यान्स पनि बैङ्किङ च्यानलमार्फत आउँदा कोरोना सङ्क्रमणको अवस्थामा पनि रेमिट्यान्स घटेको थिएन ।

 कोरोना सङ्क्रमणपछिको लकडाउनसँगै उकालो लागेको नेपाली शेयर बजारको सूचकाङ्क ३२ सयभन्दा केही माथि पुगेर निरन्तर ओरालो लागिरहेको छ । सरकारी खर्चको कमी, बैङ्कहरूको बढ्दो ब्याजदर र शेयर कर्जामा गरिएको कडाइले नेपाली शेयर बजार दुई महिनायता ओरालो यात्रामा छ ।

 शेयर बजारमा आएको गिरावटले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरूले ठुलो परिमाणमा लगानी गुमाएको बताइएको छ । तर शेयर बजार निरन्तर घटेपछि तर्सिएका कामदारले शेयरमा लगानी गर्न छाडेर हुण्डीमार्फत रेमिट्यान्स पठाउन थालेको शेयर बजार विश्लेषक सन्तोष चौधरी बताउँछन् । हुण्डी कारोवारीले नेपाली कामदारको रकम जम्मा गरी विदेशमा नै राखेर सामान पठाएर व्यापार गर्दा रेमिट्यान्समार्फत नेपाल आउने विदेशी मुद्रा रोकिँदा विदेशी मुद्राको संचिति घटिरहेको बताइएको छ ।

 नेपाल राष्ट्र बैङ्कले २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले कमी आई २०७८ साउन मसान्तमा १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँ कायम भएको र अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ साउन मसान्तमा २.८ प्रतिशतले कमी आई ११ अर्ब ४२ करोड रहेको जनाएको छ । 

 वैदेशिक रोजगारीमा जापान, दक्षिण कोरिया गएका कामदार, अध्ययनका लागि अष्ट्रेलिया र युरोपेली मुलुकमा रहेका नेपालीको ठुलो हिस्सा शेयर बजारमा प्रवेश गर्दा नेपाली शेयर बजारले नयाँ रेकर्ड बनाएको थियो भने बैङ्किङ च्यानलबाट आउने रेमिट्यान्स पनि उल्लेख्य बढेको थियो । 

 दसैँ पछाडि शेयर बजार बढ्ने धेरैको टिप्पणी भए पनि बजारमा त्यस अनुसार सुधार नभएपछि पसिनाको कमाई लगानी गरेका कामदार चिन्तित बनेको हाल युएईमा रहेका सुनसरीका प्रकाश काफ्ले बताए  । मध्यान्ह दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्