Banner Second

माओवादीका योद्धा रत्न रम्तेललाई फणीन्द्र भट्टराईले जबरजस्ती एमाले बनाइदिएपछि…

By Thah Online

October 24, 2021

सुनसरी । आम निर्वाचन नजिकिँदै छ, सँगै विभिन्न राजनीतिक दलको अधिवेशन पनि चलिरहेकै छ । यस्तो अवस्थामा कार्यकर्ताहरू एकबाट अर्को राजनीतिक दल आवतजावत गर्नु स्वाभाविक पनि हो । तर कुरानै निश्चित नभई कसैलाई आफ्नो पार्टीमा समायोजन भएको घोषणा गर्नु चाहिँ गलत हो ।

शनिवार वराहक्षेत्र मा यस्तै घटना घट्यो । नजिकिँदै गरेको एमाले नगर अधिवेशनलाई लक्षित गर्दै एमाले नेताहरू रत्न रम्तेल निवास पुगे । नगरको कुनै पदाधिकारीको ललिपप लिएर निलम खनाल, डम्बर सुबेदी, अर्जुन गहतराज र सुमन मगरातीको समूह त्यहाँ पुगेको जनाइएको छ । एक चरण छलफल भइसकेपछि रम तेलको निर्णय नआउँदै सम्बन्धित वडाका अध्यक्ष(जनप्रतिनिधि) समेत रहेका फणीन्द्र भट्टराईले सामाजिक सञ्जालमा पोस्ट गरे, “रत्न रम्तेल लगायतका नेकपा एमालेमा समायोजन गरिएको घोषणा गरियो ।”

भट्टराईको हतारोलाई मध्यनजर गर्दै भोलिपल्ट रम्तेलले बिज्ञप्ती जारी गरे । विज्ञप्तिमार्फत आफ्नो स्वीकृतिबिना एमाले नेताहरूले सामाजिक सञ्जालमा तस्बिर सम्प्रेषण गरेको जिकिर गरेका छन् । माओवादी केन्द्र वराहक्षेत्र नगर कमिटी सदस्य, ६ नम्बर वडाको अध्यक्ष र दलित मुक्ति मोर्चा सुनसरी सदस्यसमेत रहेका योद्धा रम्तेलले आफू सामाजिक परिवर्तनको संवाहक माओवादी केन्द्रप्रति कटिबद्ध रहेको हुँदा त्यस्ता भ्रमको पछि नलाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।