रुकुममा १ वर्षमै १५ ओटा झोलुङ्गे पुल निर्माण



दाङ, जेठ ३१ । रुकुममा चालू आर्थिक वर्षमा १५ ओटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लामा यस वर्ष तुइन विस्थापन कार्यक्रमअन्तर्गत आठओटा र नियमिततर्फ सातओटा झोलुङ्गे पुल निर्माण भएका छन ।

त्यसका लागि तुइन विस्थापन कार्यक्रमअन्तर्गत २ करोड १७ लाख र नियमिततर्फ २ करोड ९ लाख रुपैयाँ खर्च गरिएको जिल्ला प्राविधिक कार्यालय रुकुमले जानकारी दिएको छ । १५ ओटा पुल निर्माण भएसँगै जिल्लामा सञ्चालित तुइन विस्थापित भएका छन् । । केपी शर्मा ओली नेतृत्वको सरकारले सबै जिल्लामा पूर्णरूपमा तुइन विस्थापित गर्ने घोषणा गरेको थियो । सोहीअनुरूप पुल निर्माणलाई प्राथमिकता दिइएको जिल्ला प्राविधिक कार्यालय रुकुमका इञ्जिनीयर पहल पुनले बताए । जिल्लामा निर्माणाधीन अवस्थामा दुईओटा पुल रहेको उनले जानकारी दिए ।

जिल्ला प्राविधिक कार्यालयका अनुसार रुकुममा अझै १ सय २८ झोलुङ्गे पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । जिल्लाका जिपुज्युला र भलखोला झोलुङ्गे पुल स्यालापाखा, टिमुबोट झोलुङ्गे पुल रुकुमकोट, खालिवाङ झोलुङ्गे पुल तकसेरा, पेदीखोला ट्रस प्वाङ, धौलागाड झोलुङ्गे पुल सिस्ने, रुजीखोला झोलुङ्गे पुल काँक्री र घाटबाङ झोलुङ्गे पुल रन्मामेकोटमा पुल निर्माण भएका छन् । त्यसैगरी, टिउरी खोला ट्रस मग्मा, दोमाइखोला झोलुङ्गे पुल स्यालाखदी, चुनखोला झोलुङ्गे पुल चौखावाङ, मन्पु झोलुङ्गे पुल महत, तल्लोपुवाङ झोलुङ्गे पुल राङ्सी, घाटवाङ झोलुङ्गे पुल मैकोट र सिस्नेगाड झोलुङ्गे पुल सिस्ने पनि यसै वर्ष निर्माण भएको इञ्जिनीयर पुनले बताएका छन ।

यसअघि झोलुङ्गे पुल नहुँदा यहाँका सयौं स्थानीय बासिन्दा तुइनबाट जोखीमपूर्ण यात्रा गर्न बाध्य भएका थिए । यहाँका दुर्गम ठाउँका स्थानीयले तुइनबाटै घाँस, दाउरा, पानी, अन्नलगायत सामग्री ओसारपसार गर्दै आएका थिए । पुल बनेसँगै ढुवानी र आवतजावतमा सहज भएको उनीहररुले बताएका छन । १८ लाखदेखि ४४ लाख रुपैयाँसम्मको लगानीमा झोलुङ्गे पुलहरू निर्माण भएको जिल्ला प्राविधिक कार्यालय रुकुमले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्