खेलकुद

प्रथम वराहक्षेत्र नगर स्तरीय कराते प्रतियोगिता सम्पन्न

By Thaha - Online

October 24, 2021

सुनसरी । वराहक्षेत्र ८ स्थित सालबनी सितोरियो कराते डोजोले आयोजना गरेको प्रथम नगर स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ । आयोजक टिम सालबनी सितोरियो कराते डोजो प्रथम बनेको छ । आयोजक सालबनीले १० स्वर्ण पदक प्राप्त गर्दै प्रथम बनेको थियो भने दोस्रो स्थान हासिल गरेको कालावन्जार डोजोले ५ स्वर्णमा चित्त बुझायो ।

त्यस्तै, तेस्रो बनेको टिम प्रकाशपुर डोजोले २ स्वर्ण हात पार्‍यो । ३ सय खेलाडी आमन्त्रित गरिएको भए पनि ९५ प्रतियोगितामा खेलाडी मात्र उपस्थित थिए । कुल खेलाडीमध्येबाट पुरुष तर्फका दिपेन कार्की प्रकाशपुर डोजोबाट वेस्ट फाइटर घोषित भए भने महिला तर्फबाट नडाहा डोजोकी आयुषा प्रधान वेस्ट फाइटर घोषित भएको आयोजक क्लब सालबनी डोजोका अध्यक्ष सागर राईले जानकारी दिए ।

क्लबले सोही कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक विजयी सम्मान पाउने खेलाडीलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा अस्मिता राई, रोशन धामी, सुष्मा जिमी, शकुन्तला राई, सन्देश राई, पूजा चौधरी, विवेक राई, विनीता पोख्रेल, धन कुमार राई रहेका छन् ।

क्लबकी खेलाडी शारदा घिमिरे सभाध्यक्ष, नगर उपप्रमुख कमला मगर प्रमुख अतिथि रहेको औपचारिक कार्यक्रममा सितोरियो कराते डोजो सङ्घका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । त्यस्तै, सुनसरी स्टार एकेडेमीकी अध्यक्ष सुशीला राई, वराहक्षेत्र कराते सङ्घका अध्यक्ष होम पराजुली, चिल्ड्रेन हार्ट एकेडेमीका प्रिन्सिपल रोनि बिस्ट, काँग्रेस नेता रोशन खड्का लगायतका अतिथिको समेत उपस्थिति थियो ।