दिपक बोहरा , दाङ १५ फागुन ।
मेकसिङ पछाई राजपुर गाउँपालिकाको ३ का वडा सचिब हुन् । तर उनी ३ नंबर वडा मात्रै होईन्, अहिले १, २ र ३ को संयुक्त वडा सचिब जस्तै भएका छन् । त्यस्तै राजपुरको ४ नंबर वडाका सचिब हुन् राजेश कुमार कहार । उनले पनि ४ नैबर मात्रै होईन्, ४ र ५ दुई वटै वडा हेर्नुपर्ने बाध्यता छ । राजपुर मात्रै होईन्, अहिले दाङका ७ वटा स्थानीय तहका केही वडाहरुमा अझै पनि वडा सचिब पुग्न सकेका छैनन् ।
सवै वडाहरुमा वडा सचिब नपुग्दा एउटै सचिबले धेरै वटा वडाहरुमा काम गर्नुपर्ने बाध्यता रहदै आएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दंगीशण गाउँपालिकाकाबाहेक अन्य स्थानीय तहका केही वडाहरुमा अझै वडा सचिब पुग्न सकेका छैनन् ।
स्थानीय तहमा जनप्रतिनिधि आएको ८ महिना पुगि सक्दा पनि दाङका २२ वडा वडाहरुमा अझै पनि वडा सचिब पुग्न सकेका छैनन् । सरकारले सबै वडाहरुमा वडा सचिब पठाईसकेको भएपनि खटाएको ठाउमा सचिबहरु जन नमान्दा अझै पनि दाङको लमही नगरपालिकासहित ववई, शान्तिनगर, दंगिशरण, राप्ती, गढवा, राजपुर गाउँपालिकाका सबै वडामा अझै पनि वडा सचिब पुग्न सकेका छैनन् । अहिले ववई गाउँपालिकाको ६, बंगलाचुली, राजपुर, राप्ती, गढवा गाउँपालिकामा ३÷३ , लमही नगरपालिका र शान्तिनगर गाउँपालिकामा २÷२ जना वडा सचिब पुग्न सकेका छैनन् ।
ववई गाउँपालिकाका ६ वटा वडाहरुमा वडा सचिब पुग्न नसकेको अध्यक्ष भुवनेश्वर पौडेलले बताए । उनका अनुसार ववई गाउँपालिकाको ३ र ६ नंबर वडा बाहेक अन्य सबै वडामा अहिले वडा सचिब पुगेका छैनन् ।
त्यस्तै बंगलाचुली गाउँपालिकाका ३ वटा वडामा अझै सचिब पुग्न सकेका छैनन् । अहिले वडा नंबर ७, १ र ३ मा वडा सचिब नपुगेको गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वलीले बताए । उनका अनुसार अहिले ७ र ८ मा एउटै सचिबले काम गरिरहेका छन्, भने १ र २ लाईपनि एउटै सचिबले हेर्दै आईरहेका छन् । त्यस्तै ३ र ४ मा पनि एउटै सचिबले काम गर्नु पर्ने बाध्यता छ ।
त्यस्तै राजपुर गाउँपालिकाका ३ वटा वडामा अझै पनि वडा सचिब पुग्न सकेका छैनन् । राजपुरका १, ४ र ६ वडामा अझै पनि वडा सचिब पुग्न नसकेको अध्यक्ष लोकराज केसीले बताए । अहिले १, २ र ३ एउटा सचिबले, ४ र ५ एउटा सचिबले तथा ६ र ७ वडा एउटै सचिबलै हेर्दै आएको अध्यक्ष केसीले बताए ।
त्यस्तै राप्ती गाउँपालिकाका ३ वटा वडामा अझै पनि वडा सचिब पुग्न सकेका छैनन् । राप्ती गाउँपालिकाको १, २ र ९ मा वडा सचिब नपुगेको अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
त्यस्तै गढवा गाउँपालिकाका दुई वटा वडामा अझै वडा सचिब पुग्न सकेका छैनन् । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवका अनुसार २, ३ र ७ नंबर वडामा अझै पनि वडा सचिब पुग्न सकेका छैनन् ।
त्यस्तै लमही नगरपालिकामा २ वटा वडामा वडा सचिब पुग्न नसकेको प्रमुख कुल बहादुर केसीले बताए । उनका अनुसार २ र ४ नंबर वडामा अझै पनि वडा सचिब पुग्न सकेका छैनन् ।
त्यस्तै शान्तिनगर गाउँपालिकाका २ वटा वडामा अझै वडा सचिब पुग्न सकेका छैनन् । सवै वडाहरुमा वडा सचिब नपुग्दा पञ्जिकरणलगायतका कामहरु प्रभाबित बनेको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए । ‘सवै वडाहरुमा सचिब नपुग्दा वडाका कामहरु प्रभाबित हुँदै गएका छन्’ उनले भने ‘ पञ्जिकरणको काम गर्न झनै समस्या हुने गरेका छन् ।’ सेवाग्राहीहरु जन्म, मृत्यु, बसाईसराईलगायतका पञ्चिकरणका काम गर्न सेवा ग्राही आएपनि सहज रुपमा सेवा प्रदान गर्न असहज भएको उनले बताए । वडा सचिब नपुग्दा सेवा प्रबाहमा असर परिरहेको ववई गाउँपालिकाका अध्यक्ष भुवनेश्व पौडेलले बताए ।
अहिले केही वडाहरुमा सचिब बाहेक अन्य क्षेत्रका कर्मचारीलाई सचिबको रुपमा काम गर्न खटाएपनि प्रभाबकारी रुपमा काम सम्पन्न हुन नसकेको ववई अध्यक्ष पौडेलले बताए । ‘पशु, कृषिलगायतका क्षेत्रका कर्मचारीलाई सचिबको रुपमा खटाईएको छ’ उनले भने ‘ जसले गर्दा पनि सचिबको प्रभाबकारी रुपमा काम हुन सकेको छैन् ।’ वडा सचिब नहुँदा वडाको मासिक प्रगति प्रतिवेदन निर्माणमा समस्या भएको शान्तिनगर गाउँपालिकाका कार्यकारी अधिकृत मिन बहादुर केसीले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।