यो तिहारमा मखमली फूलको मालाको मूल्य १ सयसम्म पर्ने



काठमाडौं। यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेको बेमौसमी वर्षातकले फूल खेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो । ​फ्लोर कल्चर एसोसिएसन अफ नेपालका अनुसार मखमली फूलको १ मिटरसम्म लम्बाइको मालाको खुद्रा मूल्य गत वर्षको भन्दा २० रुपैयाँले बढेर १ सयसम्म पुग्ने अनुमान गरिएको छ । मालाको लम्बाइ अनुसार त्यसको मूल्य निर्धारण हुने गर्दछ । गत वर्ष मखमली फूल​को मालाको खुद्रा मूल्य ८० रुपैयाँ थियो ।

केही दिनअघि परेको पानीले फूल खेतीमा ३० देखि ३५ प्रतिशतसम्म क्षति पुगेको एशोसिएशनको प्रारम्भिक तथ्याङ्क छ । त्यसै गरी कोरोना महामारीका कारण करिब २२ प्रतिशत पुष्प व्यवसायी पलायन हुँदा समग्र फूल खेतीमा कमी आएको बताइएको छ । चितवन, रुपन्देही, नवलपरासी, दाङ, काठमाडौं, धादिङ, नुवाकोट, काभ्रेपलान्चोक लगायत जिल्लामा लगाइएको फूल खेतीमा वर्षातकले धेरै क्षति पुर्‍याएको एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले बताए । यद्यपि तिहारमा खपत हुने मखमली फूलको ८५ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने र बाँकी १५ प्रतिशत माग फूल आयातपछि पूर्ति हुने उनले बताए ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्