दोहोरी च्याम्पियन : उपाधिका लागि कसले मार्ला बाजी ?



काठमाडौँ । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी सो ‘दोहोरी च्याम्पियन’ प्रतियोगिताको अन्तिम चरणमा पुगेको छ । 

पहिलो पटक आयोजना भएको ‘दोहोरी च्याम्पियन’को ‘ग्राण्ड फिनाले’ आउँदो शनिवार पोखरामा सम्पन्न हुने छ । पोखराको वाराही घाटमा सम्पन्न हुने प्रतियोगिताको उपाधि विजेता दर्शकले दिएको भोटको आधारमा छानिने छ । प्रतियोगीलाई दर्शकले आउँदो शनिवार साँझ ६ बजेसम्म भोट गर्न सक्नेछन् ।

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘दोहोरी च्याम्पियन’को पहिलो सिजनको उपाधिका लागि दुई टिम अन्तिम प्रतिस्पर्धामा छन् ।  उपाधिका लागि प्रकाश पराजुली र मिना बुढाथोकीको टिमसँग बालचन्द्र बराल र शोभा कार्कीको टिम प्रतिस्पर्धामा छ । प्रकाश पराजुली र मिनाको टिम यसअगाडि नै उपाधि प्रतिस्पर्धामा पुगिसकेको थियो भने बालचन्द्र र शोभाको टिम राजेन्द्र पाठक र मिना नेपालको टिमलाई हराउँदै उपाधिका लागि प्रतिस्पर्धामा पुगेको हो ।  

‘दोहोरी च्याम्पियन’को उपाधि प्रतिस्पर्धामा २४ टिमले सहभागिता जनाएका थिए । डिजिटल अडिसनबाट सहभागी हुन आएका ३५ टिमका सहभागी मध्ये फिजिकल अडिसनबाट २४ टिम छनौट गरिएको थियो ।

दोहोरी च्याम्पियनको उपाधि विजेताले २० लाख नगदका साथमा १ करोड बराबरको जीवन बिमा प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १० लाख रुपैयाँ र ५० लाख बराबरको जीवन बिमा प्राप्त गर्ने आयोजकले जनाएको छ । तृतीय हुने टिमले ३ लाख र सान्त्वना हुने टिमले २ लाख रुपैयाँ पुरस्कार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 
दोहोरी च्याम्पियन’मा प्रतियोगितामा गायक प्रजापति पराजुली, गायिका सीता थापा, गायक चन्द्र शर्मा र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी निर्णायकका रूपमा छन् । गायक बद्री पङ्गेनी र गायिका प्रीति आलेले कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नेपाल टेलिभिजनमा शनिवार राती ८ः५० बजेबाट ‘दोहोरी च्याम्पियन’ प्रसारण हुँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्