अन्तर्राष्ट्रिय

सुडानका प्रधानमन्त्रीसहित मन्त्रीहरू सेनाको नियन्त्रणमा

By Thaha - Online

October 25, 2021

एजेन्सी। अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू पक्राउ परेका छन्। बिबिसीका अनुसार सोमबार बिहान उज्यालो नहुँदै केही मानिसहरूले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित कम्तीमा चार जना मन्त्रीलाई नियन्त्रणमा लिएका छन् । उनीहरूलाई केही सैनिकले गिरफ्तार गरेको बताइएको छ। सेनाले भने अहिलेसम्म उनीहरूको गिरफ्तारीको जिम्मा लिएको छैन। सङ्क्रमणकालीन सरकारका प्रमुखसहित थुप्रै मन्त्रीहरू गिरफ्तारमा पर्नुले त्यहाँ सैनिक ‘कु’ भएको हुन सक्ने आशङ्का गरिएको छ।

सुडानमा दुई वर्षदेखि राजनीतिक दलका नेता र सैनिक सहभागी सङ्क्रमणकालीन सरकार थियो। लामो समय शासन गरेका ओमर अल बसिरलाई सत्ताच्युत गरेपछि उक्त सङ्क्रमणकालीन सरकार बनेको थियो। सुडानको प्रमुख प्रजातन्त्रवादी समूहले सैनिक कूको प्रतिरोधका लागि नागरिकलाई सडकमा निस्कन आह्वान गरेको छ।

खार्तुममा इन्टरनेट सेवा बन्द गरिएको छ। सामाजिक सञ्जालमा आक्रोशित जनताहरूको प्रदर्शन गरिरहेको तस्बिर सार्वजनिक भएका छन्। खार्तुम विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान निलम्बन गरिएको छ। प्रत्यक्षदर्शीहरूले सहर भरि ठुलो सङ्ख्यामा सैनिक र अर्ध सैनिकहरू परिचालन गरिएको र नागरिकलाई हिँड्न प्रतिबन्ध लगाइएको समाचार संस्था रोयटर्ससँग बताएका छन्।

सुडानको प्रमुख प्रजातन्त्रवादी समूहले सैनिक ‘कु’को प्रतिरोधका लागि नागरिकलाई सडकमा निस्कन आह्वान गरेका छन्। यसअघि गत सेप्टेम्बरमा पनि बसिरका समर्थकहरूले ‘कु’ को प्रयास गरेका थिए। त्यति बेला ‘कु’ सफल नभए पनि सङ्क्रमणकालीन सरकारमा तनाव थपिएको थियो।