अफगानिस्तानमा चरम मानवीय संकट : भोक मेटाउन बाबुआमाले आफ्नै छोरीलाई बेचे



एजेन्सी । अफगानिस्तानमा चरम भोकमरी देखिएको छ । भोकमरीकै कारण अफगानिस्तानमा विभिन्न विकृति देखिएका छन् । छाक टार्नकै लागि केही अभिभावकले आफ्ना सन्तान बेच्नेदेखि ऋण मिनाह गर्न साहुलाई सन्तान जिम्मा दिन थालेका छन् । 

यसैबिच, बीबीसीले तयार पारेको एक भिडियो रिपोर्टमा पश्चिमी अफगानिस्तानको हेरात र वरपरका ग्रामीण क्षेत्रको अवस्था चित्रण गरिएको छ । बीबीसीकी योगिता लिमायले तयार पारेको उक्त रिपोर्टमा हेरातस्थित एमएसएफद्वारा सञ्चालित एक अस्पतालको दयनीय अवस्था देखाइएको छ ।

बीबीसीको रिपोर्ट अनुसार विदेशी सहायता रोक्का भएपछि कम्तिमा १० लाख बालबालिका मृत्युको जोखिममा परेका छन् । हेरात वरपरका क्षेत्रमा अवस्था कल्पनै गर्न नसकिने खालको छ । त्यहाँका बासिन्दाहरू छाक टार्नका लागि कल्पनै गर्न नसकिने कार्य गर्न बाध्य छन् । भिडियोमा भोकमरीबाट परिवारलाई बचाउनका लागि एक शिशु बेचिएको उल्लेख छ ।

छाक टार्नकै लागि आफ्नी छोरी बेच्न बाध्य भएकी आमा भन्छिन्, ‘मेरा अन्य छोराछोरी भोकै मर्ने अवस्था आएपछि छोरी बेच्न बाध्य भयौँ ।’ ती महिलाकी सानी छोरीलाई एक व्यक्तिले पाँच सय डलरमा किनेका छन् । ती व्यक्तिले उनकी छोरी हिँड्न सक्ने भएपछि घर लैजानेछन् । किन्ने व्यक्तिले उनलाई आफ्ना सन्तानसँग बिहे गरिदिने पनि भनेका छन् । तर यसबारे ढुक्क हुने अवस्था छैन ।

छोरी बेच्न बाध्य महिलाका पतिले फोहोर उठाउने काम गर्थे । तर हाल आम्दानीको यो स्रोत समेत बन्द भएको छ । ‘हामी भोक भोकै छौँ,’ छोरी बेच्न बाध्य बाबु भन्छन्, ‘हाम्रो घरमा न पीठो छ, न खाने तेल । हामीसँग केही पनि छैन ।’

भोकमरीकै कारण एकै परिवारका आठ बालबालिकाको मृत्यु भएको छ । राजधानी काबुलमा खान नपाएर एकै परिवारका आठ दाजुभाइको मृत्यु भएको स्थानीय पादरी मोहम्मद अली बामीयानीले जानकारी दिए ।

उनीहरूका बाबुको केही महिनाअगाडि क्यान्सरबाट मृत्यु भएको थियो भने आमाको ह्दयघातका कारण हालै निधन भएको थियो । अभिभावक नभएपछि केही खान नपाएर उनीहरूको मृत्यु भएको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्