दुई प्रसारणलाइनबाट हात झिक्दै विश्व बैंक



काठमाडौँ। समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैङ्क दुई प्रसारण लाइन निर्माणबाट पछि हटेको छ। विश्व बैङ्ककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौँडा–ढल्केर–इनरुवा ४०० केभी र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माणाधीन छन्।

उक्त निकाय यही कात्तिक १४ गतेदेखि आयोजनाको ऋण लगानीकर्ताबाट बाहिरिन लागेको विद्युत् प्राधिकरणका प्रसारण लाइन प्रमुख दीर्घायु श्रेष्ठले बताए। श्रेष्ठका अनुसार आयोजनाको पछिल्लो म्याद यही कात्तिक १४ गते सकिने हुँदा उसले पुनः निरन्तरता नदिने भएको हो।

विश्व बैङ्कले करिब १ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण दिएको थियो। यी दुई आयोजनाको कुल लागत करिब ८ अर्ब रुपैयाँ छ। सरकारको लगानी हालसम्म ४ अर्ब रुपैयाँ भइसकेको छ। आयोजनामा लगानी जुटाउने तयारी भइरहेको प्राधिकरण स्रोत बताउँछ।

४०० केभी र २२०/१३२/३३ केभी सब स्टेसनको प्रगति क्रमशः ६५ र ८५ प्रतिशत मात्रै छ। विश्व बैङ्कसँगको सम्झौताअनुसार ठेक्का लागेको तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्थ्यो। हेटौँडा–ढल्केर–इनरुवा सन् २०११ मा र हेटौँडा–भरतपुर–बर्दघाट सन् २००८ देखि ठेक्का लागेका आयोजना हुन्। तर, एक दशक बितिसक्दा पनि काम सक्नुको साटो अझै ढिलाइ भएको कारण देखाउँदै विश्व बैङ्कले हात झिकेको प्राधिकरण स्रोत बताउँछ। यो अवधिमा यी आयोजनामा दुई नयाँ ठेकेदार आइसकेका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्