प्रकाशमान र गोविन्दराजबिच भेट, किन जान्छन् काँग्रेस नेता जोशीलाई भेट्न ?



काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको पूर्व सह महामन्त्री गोविन्दराज जोशीलाई साधारण सदस्यबाट पनि निकालेको छ। २०७७ साउन १० गतेको केन्द्रीय अनुशासन समितिको बैठकले जोशीसहित पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पाँच वर्षका लागि पार्टी साधारण सदस्यबाट निष्कासन गरेको हो। स्थानीय, प्रदेश र सङ्घको निर्वाचनका बेला आफ्नै पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप जोशीसहितका नेताहरू कारबाहीमा परेका हुन्। तर, पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका जोशीलाई भेट्न काँग्रेसका पदाधिकारी र नेताहरू निरन्तर उनको निवास पुग्ने गरेका छन्।

काँग्रेस उपसभापति विमलेन्द्र निधि मात्र होइन नेता रामचन्द्र पौडेल निकट मानिएका महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालासहित नेताहरू जोशीसँग छलफलमा छन्। पार्टीको १४औँ महाधिवेशन सङ्घारमा रहेका बेला साधारण सदस्यसमेत नरहेका जोशीलाई भेट्न बुधबार मात्र पूर्व महामन्त्री सिंह उनकै निवास धुम्बाराही पुगेका हुन्। आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै आएका सिंहले पार्टीको पछिल्लो अवस्थाका विषयमा जोशीसँग छलफल गरेको स्रोतको दाबी छ। २०४६को राजनीतिक परिवर्तनपछिको सत्ता राजनीतिका चतुर खेलाडीका रूपमा जोशीले परिचय बनाएका थिए।

२०६२/६३ पछि पार्टी र सत्ता राजनीतिमा पछि परेका जोशीलाई केही समय अघि उपसभापति निधि र महामन्त्री कोइरालाले पनि निवासमै गएर भेटेका थिए। शेखर कोइरालाले आगामी महाधिवेशनका विषयमा जोशीसँग परामर्श गरेका थिए। देशभरिका पार्टी नेता तथा कार्यकर्ता आफ्नो पक्षमा रहेको र आफू सभापतिमा निर्वाचित हुने दाबी गर्दै शेखरले जोशीसँग गरेको निकटहरूलाई उनले सुनाएका थिए। जोशीलाई पार्टी सदस्यबाट निष्कासनको विपक्षमा उभिएका शेखरले सामाजिक सञ्जालमा लेखेका थिए,‘आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई काँग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो। उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’  

जोशीलाई भेट्न काँग्रेसका नेता मात्र होइन अन्य दलका नेता पनि बेलाबेला पुग्ने गरेका छन्। तर, सत्ता, शक्ति मात्र होइन पार्टी सदस्यसमेत नरहेका जोशीलाई काँग्रेसका नेताले किन भेटिरहेका छन् निरन्तररु नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा आफूमात्र नभएर आफ्नो तीन पुस्ताको समर्पण रहेको बताउँदै जोशीले भने, ‘काँग्रेसमा मेरो लामो समयसम्म संलग्नता रहेको छ। सँगै काम गरेका साथीहरूसँग भेटघाट हुनु र भेट्न आउनु अस्वाभाविक होइन।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्