दार्चुला, १६ फागुन ।
नेपालसित सहमति नै गरि भारतले महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलालाई केही महिना पहिले सहमतिका लागि पत्राचार गरेको भएपनि नेपालले सहमति नजनाउँदै पुल लगाएर आफ्नो हेपाहा प्रवृत्ति देखाएको छ ।
भारतले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायीरुपमा काठे पुल लगाएको स्थानीयवासीले बताएका छन् ।
हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवत जावत गर्ने गरेका छन् । भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्र्याक खोल्ने कार्य गरिरहेको छ ।
केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हेभी इक्युपमेन्ट डोजर ढुवानी गर्न भन्दै पत्रमार्फत अनुरोध गरेको थियो । भारतीयको अनुरोधबारे दार्चुला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको भएपनि गृह मन्त्रालयबाट अझै स्वीकृति नआएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । भारतले आफूलाई आवश्यक पर्ने चारवटा अस्थायी काठे पुल निर्माण गरिसकेको छ ।
भारतले लखनपुरमा महाकाली नदी पार गरी नेपाली भूमिमा बाटो खनेर तीनवटा डोजर आफ्नो भूमि लगेको छ । नेपालको तम्बाकु खोलादेखि थिइको भिरको फेदसम्म भारतीय पक्षले पैदल बाटोसमेत निर्माण गरेको व्यास गाउँपालिका अध्यक्ष दिलीप सिंह बुढाथोकीले जानकारी दिए ।
भारतले लगाउने झोलुंगे पुल तथा बाटो निर्माणका बारेमा आगामी फागुन २१ गते पिथौरागढमा हुने नेपाल र भारतका अधिकारीको समन्वय बैठकमा एजेण्डा समेत बन्नेभएको थियो । काठेपुल निर्माण गरे, नगरेको विषयमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, दार्चुला र जिल्ला प्रहरी कार्यालय बाट खटिएको संयुक्त टोलीले अनुगमन गरेपछि पुल निर्माण गरेको पुष्टि भएको हो ।
“सीमा नदीमा अस्थायी पुल निर्माण तथा दुई देशबीच सुरक्षाका हिसाबले कुनै पनि कार्य गर्दा समन्वय गर्नुपर्ने भएपनि भारतीय पक्षबाट कुनैपनि समन्वय नभएको प्रजिअ गौतमले बताए ।
दुम्लिङ भन्दा माथि पुल लगाइएका कारण नेपालीले भने पुल प्रयोग गर्न पाएका छैनन् । व्यासको वडा नम्बर २ को दुम्लिङ बस्तीभन्दा माथि निर्माण गरिएको पुलले नेपालीलाई फाइदा नपुग्ने भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन् । व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकी नेतृत्वको टोलीले आफूहरुले समेत प्रयोग गर्नेगरी काठे पुल लगाउनुपर्ने माग गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।